काठमाडौं । मुख्यसचिवको दौडमा रहेका दुई जना सचिव केदार बहादुर अधिकारी र मोहनकृष्ण सापकोटाले बिहीबारबाट अनिवार्य अवकाश पाएका छन् । यसअघि, अधिकारी पर्यटन मन्त्रालय तथा सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यलयमा कार्यरत थिए । अधिकारी र सापकोटाले सचिवमा पदमा ५ वर्ष कार्यकाल पूरा गरी अनिवार्य अवकाश लिएका हुन् ।
तत्कालिन मुख्यसचिव लोकदर्शन रेग्मीले आफ्नो नियमित कार्यकाल पूरा गरेर मात्र राजिनामा दिएको भए हालका मुख्यसचिव शंकरदास वैरागी उक्त पदमा जान पाउने थिएनन । वैरागीले पनि बिहीबारदेखि नै अनिवार्य अवकाश पाउने थिए । अधिकारी, सापकोटा र वैरागी एकै दिन २०७२ वैशाख २२ गते सहसचिव पदबाट सचिव पदमा बढुवा भएका थिए ।
निजामती सेवा ऐन २०४९ अनुसार सचिव पदमा ५ वर्ष तथा मुख्यसचिव पदमा ३ वर्ष कार्यकाल पूरा गरेमा अनिवार्य अबकाश लिनु पर्छ । अनिवार्य अवकाशको उमेर सीमा ५८ वर्ष राखिएको छ । ५८ वर्ष उमेर पुगेमा ५ वर्ष कार्याकाल नपुगे पनि सचिवले अनिवार्य अवकाश पाउने व्यवस्था छ ।
रेग्मीले पूरा कार्यकाल अर्थात कात्तिक ६सम्म काम गरेको भए हाल उद्योग वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, वन सचिव विश्वनाथ ओली तथा शहरी विकास सचिव मधुसुधन अधिकारीमध्ये एकजनाले मुख्यसचिव हुने अवसर पाउने थिए । तर अब घिमिरे, ओली र अधिकारीले पनि मुख्यसचिव पदमा नियुक्त पाउने छैनन् । घिमिरेले आगामी माघ ८, ओलीले २०७८ वैशाख ७ र अधिकारीले २०७८ वैशाख २४ मा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् ।