काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार विहिबार दुईदिन भेटघाट भैरहेका बेला महासचिव विष्णु पौडेलको पनि सहभागिता हुँदै आएको छ । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सबैलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीले महासचिव पौडेलको साथ लिएर आवश्यक व्यवस्थापन गर्दै आएकाले ओली प्रचण्डको भेटघाट पनि उनी सहभागी भएका हुन् ।
‘बाहिर दुई अध्यक्षको मात्रै भेटघाट भनिएपनि विहिबार शुक्रबार दुई अध्यक्षसँगै महासचिवको पनि सहभागिता रहेको थियो’, वालुवाटार निकट स्रोतले भन्यो ‘विहिबारको भेटघाटमा पार्टी एकिकरणको खाका तयार पार्ने जिम्मा नै महासचिवलाई दिइएको छ ।’
मन्त्रिपरिषदको पुर्नगठनको सवालमा विहिबार पनि दुई अध्यक्षले सहमति जुटाउन सकेनन । ‘ठोस मापदण्ड बनाउन असफल भएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टाढिएको हो कि भन्ने हामीलाई लागेको छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘ दुई अध्यक्षबीच अझै सहमति बन्न सकेको छैन ।’
भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न सचिवालयलाई म्याण्डेट दिएको थियो भने सचिवालयले दुई अध्यक्षलाई अधिकार दिएको थियो । असोज ४ गते बसेको सचिवालय बैठकले पनि अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दिएपनि ओली प्रचण्डवीच अझै कुरा मिल्न सकेको छैन । ‘दुई अध्यक्षबीच कुन मापदण्डका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्नेमा पटक–पटक छलफल भएपनि कुरा नमिल्दा तत्काललाई यो विषय केही पर सरेको आभाष हुन्छ’, एक स्थायी कमिटी सदस्यले भने ।
मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय गर्न असफल भएपनि दुई नेता रिक्त रहेका तीनवटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न सहमत भएपनि त्यसमा सञ्चार मन्त्रालय अझै प्रचण्ड समूहले लिने कि ओली आफैले राख्ने भन्ने बारेमा विवाद कायमै छ । ‘ओली र प्रचण्डबीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा एकदुई दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्ति सहमति जुटेको सत्य हो, सञ्चारमा विवाद भएको पनि सत्य हो ’, स्रोतले भन्यो ।
स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका ओली अर्थ र सञ्चार मन्त्रालयमा आफू निकटलाई दिने सोचाईमा छन् तर अध्यक्ष प्रचण्डले सञ्चारमा दावी छोडेका छैनन । विवादकै बीचमा प्रस्तावित अर्थमन्त्रीसमेत रहेका पौडेलले भने ओलीलाई नै साथ दिइरहेका छन् । ‘सरकारको प्रवक्ता हुने भएकाले सञ्चारमा प्रधानमन्त्रीकै रोजाईका मान्छे हुनु स्वाभाविक हो’, महासचिव पौडेलले विहिबारको छलफलमा आफ्ना धारणा राखेका थिए । बिहीबार दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला महासचिव विष्णुु पौडेल समेत बालुवाटार पुगेका थिए । त्यही क्रममा सो धारणा राखेको वालुवाटार निकट स्रोतले जनायो।