काठमाडौं । गत चैत ११ देखि गरिएको लकडाउनका कारण सार्वजनिक यातायात बन्द भएसँगै घटेको पेट्रोलियम पदार्थको आयात सार्वजनकि यातायात खुलेसँगै करिब दोब्बरले बढेको छ । नेपाल आयल निगमका अनुसार चैतयता भदौ मसान्सम्म घटेको पेट्रोलियम पदार्थको आयात असोज १ देखि सार्वजनिक सवारी सञ्चालनमा आएसँगै बढेको हो । निगमका अनुसार गत चैतयता भदौ मसान्तसम्म मासिक औषत १४ हजार ७ सय ५१ किलोलिटर पेट्रोल र मासिक ४५ हजार ५ सय ७ किलोलिटर डिजेल आयात हुने गरेको थियो । सामान्य अवस्थाको तुलनामा पेट्रोल र डिजेलको उक्त आयात न्युन रहेको निगमका अधिकारीहरु बताउँछन् ।
अघिल्लो वर्ष २०७५ चैत देखि भदौसम्म पेट्रोलको मासिक औषत आयात २५ हजार ५ सय ४७ किलोलिटर र डिजेलको आयात मासिक औषत ७५ हजार ५३ किलोलिटर हुने गरेको निगमको तथ्यांक छ ।
असोजमा दोब्बर आयात
निगमको तथ्यांक अनुसार सार्वजनिक यातायात बन्द गरेपछि गत चैतयता भदौ मसान्तसम्म मासिक १४ हजार ७ सय ५१ किलोलिटर पेट्रोल र मासिक ४५ हजार ५ सय ७ किलोलिटर डिजेल हुने गरेको थियो । तर, असोज १ देखि सार्वजनिक सवारी खुलेसँगै पेट्रोल र डिजेलको आयात ह्वात्तै बढेको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले असोज २० गते सम्म २९ हजार किलोलिटर पेट्रोल र ६७ हजार ३७ किलोलिटर डिजेलको आयात भएको जानकारी दिए । उक्त आयात सामान्य अवस्थाको भन्दा बढी र पेट्रोलको हकमा लकडाउनयताको तुलनामा झण्डै दोब्बरले आयात बढेको निगमले जानकारी दिएको छ । निगम प्रवक्ता उपाध्यायका अनुसार असोजयता पेट्रोलको आयात दैनिक औषत १४ सय ५० किलोलिटर र डिजेलको आयात दैनिक औषत ३३ सय ५२ किलोलिटर रहेको छ ।
आयात भन्दा बिक्री बढी
असोज १ यता सार्वजनिक सवारी सञ्चालनमा आएसँगै आयात भन्दा बिक्री बढी रहेको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए । असोज २० गतेसम्म पेट्रोलको कुल आयात २९ हजार किलोलिटर रहेकोमा कुल बिक्री २९ हजार ८ सय ३० किलोलिटर रहेको छ । भदौमा आयात भएको पुरै परिमाणको पेट्रोल भदौमा नै बिक्री नभएपछि उक्त पेट्रोल असोजमा बिक्री गरेका कारण असोजमा आयात भएको पेट्रोलको तुलनामा बिक्री बढी देखिएको हो । सोही किसिमले असोज २० गतेसम्म ६७ हजार ३७ किलोलिटर डिजेल आयात भएकोमा बिक्री ७१ हजार २ सय ५६ किलोलिटर रहेको छ । असोजमा पेट्रोलको दैनिक औषत बिक्री १४ सय ९२ किलोलिटर रहेकोमा डिजेलको औषत दैनिक ३५ सय ६३ किलोलिटर रहेको निगमको तथ्यांक छ ।
यात्रु छैनन्ः व्यवसायी
यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा आएपछि यात्रु नपाएको गुनासो गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रु नभएका कारण तेलमा हुने खर्च उठाउन समेत गाह्रो भएको बताएको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यात्रु नभएका कारण इन्धनमा हुने खर्च संकलन समेत गाह्रो भएको बताए ।
यसअघि सरकारले गत १ असोजदेखि आधा यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिएर यात्रु ओसारपसार गर्न पाउने गरी विगत ६ महिनादेखि बन्द रहेका सार्वजनिक सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।