प्रेस युनियन कास्कीको शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
103
Shares
पोखरा । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता पूर्णप्रसाद र माता मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष पत्रकार लौडारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनोट समितिको सदस्यमा पुरस्कार संस्थापक परिवारका सदस्य भोला बराल, कुशल बराल, पत्रकार बिमला भण्डारी सदस्य तथा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेल पदेन सदस्य थिए । यसअघि सो पुरस्कारबाट पहिलो पटक पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका थिए ।
सरकारी सेवा छाडेर वि.स. २०५१ बाट पत्रकारितामा प्रवेश गरेका लौडारी पर्यवेक्षक साप्ताहिक, आदर्श समाज पाक्षिकदेखि दैनिक, हिमालय टाइम्स दैनिक, कम्युनिकेशन कर्नर उज्यालो रेडियो नेटवर्क, पोखरा उद्योग वाणिज्य संघको व्यापार पत्रिकाको सम्पादकको रुपमा काम गरिसकेका छन् । ०६४ सालदेखि रेडियो तरङ्गको प्रबन्ध सञ्चालक र ०७४ सालदेखि हिमदूत राष्ट्रिय दैनिकको प्रबन्ध सम्पादक हुन् ।
यसअघि उनी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट सञ्चालित टी आई पत्रकारिता पुरस्कार ०५५ र नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित गजेन्द्र स्मृति सृजनशील पत्रकारिता पुरस्कार २०६१ बाट सम्मानित भैसकेका छन् । कात्तिक २ गते कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने सचिव प्रदिप पौडेलले बताए।
यसवर्ष युनियनले सूप्रेम शारदा स्मृति पत्रकारिता पुरस्कार र प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि वितरण गर्नका लागि छनोट समिति गठन गरिसकेको छ ।