डा केसीसँग परिणाममुखी वार्ता गर्न प्राध्यापक संघका पुर्व अध्यक्षहरुको माग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
30
Shares
काठमाडौं। नेपाल प्राध्यापक संघका पुर्व अध्यक्षहरुले चिकित्सा क्षेत्रका बेथिती सुधारका लागि अनसनरत डा गोबिन्द केसीसँग परिणाममुखी वार्ता गर्न सरकारलाइ सुझाएका छन् । सरकारले डा केसीसँग वार्ताका लागि समिति बनाएर वार्ता थाल्नु स्वागतयोग्य भन्दै प्राध्यापक संघका पूर्व अध्यक्षहरुले परिणाममुखी वार्ता हुनुपर्ने बताएका हुन ।
वार्ताको प्रयास गर्ने तर फेरि पनि सहमतिलाइ तोड्ने र कार्यान्वयन नगर्ने स्थितिले डा केसी सिंगो जनचासोको विषयमा पटक पटक अनसन बस्नु परेको उनीहरुले भनेका छन् । 'डा केसीले उठाएका माग केसीको एक्लो होइन, यो सिंगो मुलुक र जनतासँग जोडिएको विषय हो, सरकारले वार्ताको पहल त गर्यो, तर परिणाममुखी वार्ता होस, डा केसीको अनसनमा हाम्रो ऐक्यवद्धता छ।' नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका पुर्व अध्यक्ष गुणनिधि न्यौपानेले भने ।
प्राध्यापक संघका पूर्व अध्यक्ष कपिल श्रेष्ठले पहिलेका सरकारले गरेका सहमती समेत हालको सरकारबाट तोडिदा डा केसी अनसन बस्नुपर्ने अवस्था आएको बताए । उनले डा केसीका माग जायज रहेको भन्दै सरकारले माफियाको संरक्षण विरुद्धको नीति लिनुपर्नेमा जोड दिए ।
प्राध्यापक संघकै पूर्व अध्यक्ष भीमसेनदास प्रधानले पटक पटक वार्ता गर्ने र सहमती नमान्ने स्थितिको सरकारले अन्त्य गर्नुपर्ने र लोकतान्त्रिक विधि र प्रक्रियाबाट गरिने जायज मागको सरकार पक्षबाट सुनुवाइ हुनुपर्ने बताए ।
डा केसीले प्रस्तुत गरेका माग सरकार पक्षबाट सम्बोधन हुँदा सरकारप्रतिको जनबिश्वास र भरोसा समेत बढ्ने उनिहरुको धारणा छ।
डा केसीको अनसनप्रती नेपाल प्राध्यापक संघका अन्य पूर्व अध्यक्षहरु खगेन्द्र भट्टराई, डा बिनोद श्रेष्ठ, सुप्रभा घिमिरे, भुपती ढकाल, रामेश्वर उपाध्यायले समेत ऐक्यबद्धता जनाएका छन् ।