arrow

निजगढ विमानस्थल बनाउन आएको स्वीस कम्पनी भारतको नोयडामा गयो, यूपी सरकारसँग गर्‍यो सम्झौता 

नोयडाको विमानस्थलको यात्रु क्षमता ७ करोड हुने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
up-noida-airport-zurich.jpg

काठमाडौं। बाराको निजगढ विमानस्थल बनाउन आएको स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजी छिमेकी देश भारत पुगेको छ । भारतको उत्तर प्रदेश सरकारसँग जुरिच एयरपोर्ट इन्टरनेसनल एजीले जेवरमा नोयडा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । चार चरणमा बन्‍ने सो विमानस्थलको यात्रु क्षमता सात करोड रहने बताइएको छ । उत्तर प्रदेशका मुख्य सचिवले विश्वस्तरका सबै सुविधाहरु विमानस्थलमा रहने दावी गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।  

नेपालको निजगढ विमानस्थल बनाउन आएको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीले पछि हट्ने संकेत दिए लगत्तै उसले भारतसँग सहकार्य गरेको हो। निर्माणसम्बन्धी प्रस्ताव पेस गर्न जुरिचलाई दोस्रो पटक दिइएको म्याद असोज १४ मा सकिएको छ। उसले दोस्रो पटकको म्याद पनि यत्तिकै गुजार्दा भारतमा नयाँ विमानस्थल बनाउने सम्झौता गरेको छ । नेपालमै बनाउने तयारीका साथ आएको कम्पनी नेपालको विमानस्थल छोडेर भारतको उत्तर प्रदेश पुगेर बृहत अन्तर्राष्ट्रिय विमानस्थलको तयारी थालेको घटनाको पर्यटन मन्त्रालयमा चर्चा हुन थालेको छ । उसै पनि निजगढ विमानस्थल निर्माणका क्रममा वृहत मात्रामा जंगलको विनाश गरिने भन्दै विवाद जारी छ । 

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धका कारण स्विस कम्पनीका अधिकारीहरु दिल्ली आउन समय लागेका कारण सम्झौतामा हस्ताक्षर गर्न केही ढिलाइ भएको भारतीय मिडियाले जनाएका छन् । उत्तर प्रदेश सरकार र स्वीस कम्पनीबीच अक्टोबर ७ मा सम्झौतामा हस्ताक्षर भएको हो। 

उक्त विमानस्थल निर्माणका लागि करिब ५ हजार हेक्टर जमिन आवश्यक पर्ने र आठवटा रनवे हुने जनाइएको छ । पहिलो चरणको काम सन् २०२३ सम्म सन्पन्‍न गरिने तयारी उत्तर प्रदेश सरकारको छ।  



लोकप्रिय समाचार
नयाँ