सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए । काठमाडौं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या २० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डिएसपी) को कार्यभार सम्हाल्न आएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसअघि सरुवा भएर काठमाडौं गएका प्रनाउ कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आएका हुन्। यसैगरी शुक्रबार अन्य संक्रमित हुनेमा राजविराज नगरपालिका– १ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय संक्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
योसँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ । ती मध्ये १ हजार १०३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित २ सय ४० जना रहेका छन् ।