काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणमा आएको सोमबार एक बर्ष पुग्दैछ । २३ बर्षपछि चिनिया राष्ट्रपतिले गत वर्ष नेपाल भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयले तत्कालिन राष्ट्रिय माहोल नै बनाएको थियो । विश्वका पाँच शक्तिशाली व्यक्तिमध्ये एक चिनिया राष्ट्रपति सी भएकाले नेपाल सरकारले पनि जेड तहको सुरक्षा र त्यही तहको व्यवस्थापन गरेको थियो । सुरक्षा र स्वागतमा नेपाल सरकारले विशेष ध्यान दिएपनि सत्तारुढ दलले पनि सीको स्वागतमा कुनै कसर बाँकी राखेको थिएन ।
त्यतिबेला सत्तारुढ दलले चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको थियो । सम्झौतापत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका थिए । लगत्तै चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको थियो । त्यतिबेला सो कार्यक्रममा नेकपाका २ सय जना केन्द्रीय नेता, वामपन्थी बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।
त्यतिबेलैदेखि नेपाल सरकार र सत्तारुढ दल नेकपा भारतको विरोधको नाममा चीनको काखमा पुगेको पुगेको भन्दै विभिन्न तहबाट आलोचना भएको थियो । आलोचनापछि त्यतिबेलै पार्टी प्रवक्ता समेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी कुनै पनि मुलुकतिर नढल्केको भन्दै सामाजिक सञ्जालमा ट्वीट गर्न बाध्य भएका थिए ।
सोमबार चिनियाँ राष्ट्रपति नेपाल भ्रमणका आएको एक बर्षको अवसर पारेर नेकपाकै विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधव नेपाललाई प्रमुख अतिथि बनाएर नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल उपाध्यक्ष रहेको एउटा संस्थाले कार्यक्रम गर्न लागेको छ । ‘नेपाल चाइना मिडिया फोरम’ आयोजक रहेको कार्यक्रममा सीको नेपाल भ्रमणबारे पुस्तक प्रकासन गरेको र त्यसको विमोचन कार्यक्रममा प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले गर्न लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलाई पनि सो कार्यक्रममा आमन्त्रण गरिएको छ । भर्चुअल रुपमा हुने सो कार्यक्रममा चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सहभागी हुने बताइएको छ । नेपालस्थित चिनियाँ राजदूत पनि सहभागी हुने गरी सो कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।
यता नेकपाका सयौं कार्यकर्ताहरुको माँझमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङको बारेमा भर्चुअल उपासना हुनेछ । उनका गुनगानको बारेमा बोल्ने कार्यक्रम बनाइएको छ । यस्तो कार्यक्रम पार्टीको औपचारिक कार्यक्रम नभएपनि नेकपाको विदेश विभाग प्रमुख माधव नेपाल सहभागी हुनु र आयोजक संस्थामा पनि विदेश विभागकै उपप्रमुख उपाध्यक्ष रिजाल रहनुले पार्टीकै कार्यक्रमको रुपमा यसलाई बुझिएको छ ।
‘ यस्ता कार्यक्रमहरु पार्टीले खुलेर नगरे पनि पार्टीका आधिकारिक व्यक्तिहरु सहभागी हुनु अझ विदेश विभागकै उपप्रमुखको संस्थाले आयोजना गर्नुलाई यो सामान्य अर्थमा लिन मिल्दैन’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार सि जिनफङ नेपाल आएको एक वर्ष पुगेर अवसर पार्नु, त्यही मिति राख्नुलाई ‘लज्जास्पद चाकडी’, हो भन्न सकिन्छ ।
‘ खासगरी भारत विरोधि भावानालाई ‘क्यास’ गरेर राष्ट्रवादी छवीका साथ सत्तामा पुगेका कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुनै यस्ता व्यक्ति पूजा जस्तो देखिने कार्यक्रममा सहभागी हुने नेपाली जनताकै लागि लज्जास्पद हो यसले पार्टी र देशलाई फाइदा गर्दैन’, ती स्थायी कमिटी सदस्यको भनाई थियो । यसले नेकपाकै छवी मात्र हैन नेपालकै छवी समेत विगार्न मद्धत गर्छ । कसैले पैसा दियो वा सहयोग गर्यो भनेर जस्तो पनि कार्यक्रम गर्दा यसले हाम्रो गरिमा बढाउँदैन ति नेताले भने ।