काठमाडौं । आमरण अनशनको २७ औं दिनमा डा. गोविन्द के.सी. र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दै स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती निकाल्दै वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको कुरालाई ध्यानामा राख्दै सहमति गर्दै ढुक्क हुने अवस्था नरहेको बताएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. के.सी.का मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. के.सी.सँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको पनि प्रवक्ता शर्माले स्मरण गराएका छन् । शर्माले भनेका छन्, 'अतः थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुंदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।'
डा. के.सी.ले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण रहेको कांग्रेसको ठहर छ । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुर्व्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको कांग्रेसले भनेको छ । कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, 'सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।'