काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ मूल्य पसलमा लेबल नभएका खाद्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले आइतबार गरेको अनुगमनका क्रममा कम्पनीले बिक्री गर्दै आएको चामल लगायतका खाद्य वस्तुमा लेबल उल्लेख नभएको पाइएको हो । कम्पनीले बिक्री गरिरहेका चामलको बोरामा एक्सापायर डेट लगायत नलेखिएको पाइएको महानगरको अनुगमन समितिले जानकारी दिएको छ । संयोग कस्तो भने अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख र उपभोक्ताको हितमा अनुगमन गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्व एउटै व्यक्ति नेत्र सुवेदीले गरिरहेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नाताले लेबल नभएका वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई कारावही गरिरहेका सुवेदी आफैंले नेतृत्व गरेको अर्को निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भने दनादन लेबल नभएका वस्तुको बिक्री वितरण गरिरहेका छन् । उपभोक्ताको हितमा काम गर्नुपर्ने सुवेदीले आफ्नै नेतृत्वमा रहेको कम्पनीमार्फत लेबल नभएका खाद्य वस्तु बिक्री वितरण गर्नुलाई रहस्यको रुपमा लिइएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । केही दिन अघि मात्रै केही व्यवसायीले लेबल नभएका वस्तुको कारोबार गरेको भेटिएपछि विभागले कारवाही गरेको थियो । तर, आफ्नै नेतृत्वमा रहेको कम्पनीमार्फत लेबल नभएका खाद्य वस्तुको बिक्री वितरण भइरहँदा भने सुवेदी मौन समर्थन् जनाइरहेका आइतबारको घटनाबाट देखिन्छ ।
यद्यपि अनुगमन टोलीलाई कम्पनीका लेखा अधिकृत नरनाथ अधिकारीले गत पुसमा जापानले उपलब्ध गराएको चामल अहिले बिक्री गरिरहेको बताए । त्यस्तै कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछानेले कम्पनी लेवल राख्ने चरण रहेको बताइन् ।
तर, उपभोक्ता अधिकारकर्मीहरुले भने एउटै हाकिमको दुई थरि चरित्र रहस्यपूर्ण रहेको बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले निजी क्षेत्रलाई गुणस्तर कायम भएन भनेर कारवाही गर्ने विभागको नेतृत्वले आफुले चाँही मनलाग्दी गरेको आइतबार कम्पनीमा पाइएको कैफियतबाट पुष्टि हुने दावी गरे । जिम्मेवार व्यक्तिबाटै उपभोक्तामाथि खेलावाड भइरहेको भन्दै तिमिल्सिनाले नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।