काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष प्रा. ई. सरोज देवकोटाको आइतवार निधन भएको छ । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका देवकोटा नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा चिनिएको नाम हो । देवकोटाको निधनबाट नेपालको इञ्जिनियरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल इञ्जिनियर्स एशोसिएसन र सिडेनले जनाएका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय देवकोटाले पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै नेपाली कांग्रेसले श्रद्धाञ्जली अर्पण गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले देवकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष प्रा. ई. सरोज देवकोटाको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । इञ्जिनियरिङ क्षेत्रको एक सुपरिचित व्यक्तित्वको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । स्वर्गीय देवकोटाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”