काठमाडौं । कोरोना संक्रमित व्यक्ति लोकसेवा आयोगको परिक्षाबाट वञ्चित हुने भएका छन् । आयोगले खुलाएको विज्ञापनमा फाराम भरेका तर परिक्षा दिने बेला पोजेटिभ रिपोर्ट देखिएमा त्यस्ता व्यक्तिले आयोगको परिक्षा दिन नपाउने भएका हुन् । आयोगले बनाएको परिक्षा सम्बन्धी मापदण्डमा कोरोना संक्रमण देखिएमा परिक्षा केन्द्रमा प्रवेश गर्न नपाउने कडा व्यवस्था गरेको छ तर कोरोना संक्रमित भएको नभएको घोषणा स्वयले व्यक्तिले गर्नुपर्ने छ ।
मापदण्डमा सय जना विद्यार्थीकोलागि एउटा परिक्षा केन्द्र तोक्नुपर्ने, बढीमा २५ जना विद्यार्थीलाई एउटा कोठामा राख्नुपर्ने, एउटा वेञ्चमा एक जना विद्यार्थी मात्र बस्नुपर्ने, एउटा बेञ्च र अर्को बेञ्चको फरक कम्तीमा २ मिटर हुनुपर्ने, परिक्षा केन्द्रभित्र पस्दा र परिक्षा केन्द्रबाट निस्कदा भौतिक दुरी कायम गर्नु लगायतका शर्तहरु राखिएका छन् । यसैगरी परिक्षा केन्द्रमा आकस्मिक प्रयोजनकोलागि २० थान मास्क, ५ सय एमएल सेनीटाइजर, व्यवस्था हुनुपर्ने, भिडभाड बन्द गर्नुपर्ने, एउटा व्यक्ति र अर्को व्यक्तिवीच कम्तीमा २ मिटर दुरी कायम हुनुपर्ने, माक्स, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था मापदण्ड तोकिएका छन् । आयोगले यही बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । करिब ५ सय संख्याको सहसचिव र उपसचिवमा विज्ञापन खुलाउन लागेको आयोग स्रोतले जनाएको छ । आयोगकी प्रवक्ता गिता हुमागाईंले आयोगले बनाएको मापदण्ड परिक्षा हलमा पूर्ण रुपमा लागु गरिने बताइन ।
आयोगले हरेक वर्ष असोजको अन्तिम बधबारबाट विज्ञापन खुलाउन सुरु गर्छ । यो क्रम चैतको अन्तिम बुधबारसम्म कायम रहन्छ । जसअनुसार आयोगले असोज महिनाको अन्तिम बुधबार सहसचिव, उपसचिव पदमा तथा कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक पदमा विज्ञापन आब्हान गर्ने गरेको छ । यसैगरी मंसिरको अन्तिम बुधबार शाखा अधिकृत पदमा विज्ञापन आब्हान गर्ने गरेको छ । असोज पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई विज्ञापन खुलाउन आग्रह गर्ने निर्णय गरेको थियो । आयोगले यस वर्ष ३ देखि ४ हजार पदमा संघकोलागि विज्ञापन खुलाउने तयारी गरेको छ। आयोगले विज्ञापन खुलाउनु अघि संघीय मामिला मन्त्रालयले रिक्त पदहरुको विवरण पठाउने गर्छ । आयोगले यस वर्षदेखि संघकोलागि मात्र विज्ञापन खुलाउने भएको छ । प्रदेश तथा स्थानीय तहकोलागि सम्बन्धित प्रदेश लोकसेवा आयोगले विज्ञापन खुलाउने कानुनमा व्यवस्था गरिएको छ ।