काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा बाइस सय तिरासी जनामा कोरोना संक्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा अठार सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ संक्रमित थपिएका छन् ।
साथै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख एघार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । योसँगै देशभरि सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । उनीहरुमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना छन् । क्वारेन्टिनमा रहनेहरु चार हजार ८३१ छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष र दुई महिला छन् । मृत्यु हुनेमा काठमाडौँकी ७१ वर्षीया महिला र चितवनकी ४० वर्षीया महिला रहेका छन् । भने रुपन्देहीका ७४ वर्षीय पुरुष, काठमाडौँका ६३ वर्षीय पुरुष, ६७ वर्षीय पुरुष र ५० वर्षीय पुरुष, सुनसरीका ३७ वर्षीय पुरुष, ८९ वर्षीय पुरुष र ९० वर्षीय पुरुष रहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ४५ पुगेको छ ।
प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएको बताए । पछिल्लो समय एक हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल सङ्ख्या ७७ हजार २७७ पुगेको छ । भाइरसबाट निको हुने दर ६९ दशमलव १ प्रतिशत छ ।
हाल मनाङ जिल्लामा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन् । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका नौ जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर छन् । देशभर संक्रमितमध्ये २७९ जना सघन उपचार कक्ष र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।