काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छलीको आरोपमा दुई जनाविरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ विभागले सोमबार भारतीय नागरिक सुनिल सोनी र रुपन्देही सिद्धार्थ नगरपालिकाका अमित परियारविरुद्ध २ अर्ब ३९ करोड राजश्व छली गरेको आरोपमा तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको हो । सोनीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२मा सोनी ज्वेलर्स सञ्चालन गर्दै आएका थिए भने परियार मतियार रहेका विभागले जानकारी दिएको छ । । दुवै जनाले सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । दुवै जनालाई २ अर्ब ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद माग गर्दै विभागले मुद्दा दायर गरेको हो ।
यसरी भयो राजश्व छलीको पुष्टि
विशेष सुचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धानका लागि एक टोली खटिएको थियो । टोलीले बुटबल उपमहानगरपालिका वडा नम्बर ११ स्थित चौराहाबाट सुनिल सुनार (सुनिल सोनी)को कारभित्र बोरामा लुकाई छिपाई राखेको नगद र निजको साथमा रहेको मोबाईल समेत गत असार ३ मा बरामद गरी सोनीलाई पक्राउ गरेको थियो ।
सोनी ज्वेलर्सका प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका संचालक साेनी भारतीय नागरिक हुन् । अनुसन्धानका क्रममा साेनीले सुनचाँदीको अवैध आयात निर्यात गर्दै आएको पुष्टि भएको थियो । उनले अवैध सुनको आयात निर्यात लगायतको कारोवार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरुसँग कारोबार गर्ने गरेको, कारोबार स्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर बैंक स्टेटमेन्ट र मोवाइलबाट प्राप्त बैंक भौचरका आधारमा देखिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
उनले विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट निजले बैंक तथा भन्सार बिन्दु बाहेक अन्य बाटोबाट सुनचाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने गरेको विभागको ठहर छ । बिक्री वितरणबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने दिने एवंम अवैध सुनचाँदीको चोरी पैठारी निकासी गरी कारोवार गर्दा आयात निर्यातमार्फत २ अर्ब २३ करोड ३८ लाख ८ सय ७० रुपैयाँ राजश्व छली गरेको देखिएको छि ।
त्यस्तै आयकरतर्फ १६ करोड ४१ लख ७७ हजार ७३ रुपैयाँ छली गरेको पुष्टी भएको विभागले जानकारी दिएको छ । यसरी २ अर्ब ३९ करोड भन्दा बढी राजश्व छली गरेको पुष्टि भएपछि राजस्व चुहावट ऐन, २०५२ अनुसार असुलीसहीद कैद र जरिवानाका लागि तुल्सीपुर उच्च अदालतमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ ।