arrow

सी जिनफिङ नेपाल आएको बर्षगाँठमा यस्तो कार्यक्रम

सी जिनफिङको चाकडी झल्किने कार्यक्रमलाई सामन्ती अवशेषको संज्ञा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २६ सोमबार
xi-jinping-visit-book.jpg

काठमाडौं । चिनिया राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण गरेको एक वर्ष पुगेको अवसरमा सोमबार साँझ उनको महिमा गानसहित पुस्तक सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो पुस्तक विमोचन गरेका थिए । सोमबार साँझ नेपाल–चीन मिडिया फोरमले ‘प्रेसिडेण्ट सी चीन फिङस नेपाल भिजिटः अ पिक्चोरियल गाइड ' नाम गरेको पुस्तक सार्वजनिक गरेको हो ।

सी नेपाल आएको अक्टुबर १२ तारिखमा एक बर्ष पुगेको अवसरमा फोरमले गरेको सो कार्यक्रममा नेकपा विदेश विभागमा प्रमुख माधव कुमार नेपाल एवं उपप्रमुख विष्णु रिजाल दुवै सहभागी भएका थिए । फोरमका अध्यक्ष भने पत्रकार किशोर श्रेष्ठ हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एभरेष्ट होटलमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गदै विश्वलाई कसैको चस्माबाट होइन आफ्नै आँखाले नेपालीले हेर्ने बताउदै नेपालले नेपाली भूमि कसै विरुद्ध प्रयोग हुन नदिइने बताएर चीनलाई खुशी पार्ने कोसिस गरेका थिए। जबकि एक चीन नीतिबारे नेपाल सरकार र नेपालका सबै दलहरु सहमत रहेका छन् ।

‘विश्वलाई हेर्ने नेपालीको आफ्नै आँखा छ । दिमाग छ । अरुको चस्माले हामीले कसैलाई हेर्ने गरेका छैनौं, चीन र नेपालबीचको सम्बन्ध ऐतिहासिक र भावनात्मक रहेको छ । चीनको अनुभवबाट नेपालले धेरै सिक्नुपर्नेछ । नेपालले चीनसँग भएका सम्झौतालाई नेपालले कागजीरुपमा मात्र नभई व्यावहारिकरुपमा लाभ लिन सक्नुपर्नेछ’, नेता नेपालले कार्यक्रमम सम्बोधन गर्दै भनेका थिए । उनले बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई) चीनको मात्र स्वार्थ नभई सिङ्गो मानव जातिको हितसँग जोडिएको पहल भएकाले नेपालले यसबाट लाभ लिन सक्नुपर्ने पनि बताए ।  

‘पछिल्लो समय राष्ट्रपति सीले चीनको नेतृत्व सम्हालेपछि उहाँले बेल्ट एण्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सार्नुभएको छ । पुरानो सिल्क रोडले जसरी एशिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गरेको छ । यो अत्यन्तै सह्रानीय छ । यसमा नेपालको सहभागिताबाट अरु कुनै देश आत्तिनु पर्ने स्थिति छैन,’ नेता नेपालले सीको प्रशंसामा खर्चिएका थिए । 

चीनका राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमण भएको भन्दै नेकपा नेताहरुले प्रशंसा गर्दै आएका छन् । गत वर्ष राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते २० बुँदे सम्झौता भएको थियो ।

सोमबारको कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९५५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयाममध्ये गत वर्षको राष्ट्रपति सीको भ्रमण थप बहुआयामिक भएको र यसले नेपालको अन्तराष्ट्रिय हैसियत बढाएको बताएको दावी गर्दै प्रशंसा गरेका थिए । फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेकाले त्यसलाई अभिलेखीकरण गरिएको जनाए ।

तर यो कार्यक्रमलाई लिएर नेकपाभित्रै पनि निकै टीकाटिप्पणी भएका छन् । सतहमा प्रकट नभएपनि छिमेकी नेताको भ्रमणको बर्षगाँठमा कार्यक्रम हुनु, पुस्तक निकालिनु जस्ता कार्य सामन्ती अवशेष भएको नेकपाका एक नेताले हाम्राकुरासँग टिप्पणी गरे। विगतमा राजा महाराजाहरुलाई खुसी पार्न चाकडीको शैलीमा गरिए झै सी जिनफिङलाई खुसी पार्न यस्ता कार्यक्रम किन आवश्यक पर्‍यो उनले प्रश्न गरे । सि जिनफिङ नेपाल आएको एक वर्षको अवसर भनेर त्यही मितिमा कार्यक्रम राख्नु ‘लज्जास्पद चाकडी’, हो उनले बताए । 



लोकप्रिय समाचार
नयाँ