काठमाडौं । व्यवसायीले म्याद नाघेका खाद्य वस्तु बिक्री वितरण गरेको अनुगमन गरी आवश्यक कारवाही गर्नुपर्ने दायित्व बोकेको सरकारले आफैँ म्याद नाघेका वस्तु बिक्री वितरण गर्दै आएको छ । उपभोक्ताको संरण गर्ने जिम्मेवारी पाएको निकायकै प्रमुख रहेको सरकारी निकाय देखि दुग्ध विकास संस्थान (डिडिसी)ले सम्म उपभोक्तामाथि खेलवाड गरेका एकपछि अर्को घटना बाहिर आउन थालेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले गरेको अनुगमनबाट गत आइतबारमात्रै सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लेबल नभएको खाद्य वस्तुको कारोबार गर्ने गरेको खुलेको थियो । त्यसको दुई दिनपछि कृषि तथा पशुपञ्छि विकास मन्त्रालय माहतको डिडिसीम म्याद नाघेका एवं लेबल नभएका खाद्य वस्तु बिक्री वितरण गर्दै उपभोक्ताको स्वास्थमाथि खेलवाड गरेको पाइएको हो ।
मंगलबार डिडिसी अनुगमन गर्ने क्रममा महानगरपालिकाको अनुगमन टोलीले करिब २ लाख किलोग्राम बटर म्याद नाघको बिक्री वितरणका लागि राखेको पाइएको हो । महानगरपालिकाको अनुगमन टोलीले दिएको जानकारी अनुसार मंगलबार १ लाख ९४ हजार ९ सय ७५ केजी बटर म्याद नाघेको पाइएको हो । बटरका कार्टुनमा उत्पादन मिति, ब्याच नम्बर केही पनि उल्लेख नभएकाले उक्त वस्तु म्याद नाघको नै हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले दावी गरेका छन् । म्याद सकिएको बटरमा मार्करले उपभोग्य मिति लेखिएको पाइएको अुनगमन समितिले जानकारी दिएको छ ।
उपभोक्ताको स्वास्थ सुरक्षाको ख्याल गर्दै बजारमा म्याद सकिएका एवं उपभोक्ताको स्वास्थमा प्रतिकुल असर पार्ने वस्तुको नियन्त्रण गर्नुपर्ने सरकारले विभिन्न निकायमार्फत म्याद नाघेका वस्तुको कारोबार गरी उपभोक्ताको स्वास्थमाथि गम्भीर खेलवाड गरिरहेको उपभोक्ता अधिकार्मी माधव तिमिल्सिना दावी गर्छन् ।