arrow

निगमका ढुवानी ट्यांकरमा जडित लकिङ सिस्टममा गम्भीर प्रश्न, पेट्रोलियममा मिसावट र चोरी घटेन

लकिङ सिस्टममा अख्तियारको चासो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २७ मंगलबार
Nepal-Oil-Corporation-tanker.jpeg

काठमाडौं । लकिङ सिस्टम दुरुस्त भए पनि पेट्रोलियम पदार्थमा मिसावट गरिएका कारण केहि महिना यता ट्यांकरहरु धमाधम समातिन थालेका छन् । ढुवानी व्यवस्थित बनाउन तथा पेट्रोलियम पदार्थमा हुने चोरी र मिसावट रोक्ने उद्धेश्यले नेपाल आयल निगमले २०७४ चैतदेखि ढुवानी गर्ने ट्यांकर (ट्यांक ट्रक) मा लकिङ (ताला) सिस्टम कार्यान्वयनमा ल्याएको हो। करोडौं लगानी गरेर ट्यांकरमा  लकिङ सिस्टम जडान गरिए पनि पेट्रोलियम पदार्थमा हुने मिसावट र चोरीको घटना भने रोकिन सकेको छैन् ।

पेट्रोलियम व्यवसायी लिलेन्द्र प्रधानका अनुसार भारतबाट नेपालका विभिन्न डिपोसम्म ढुवानी गर्ने र डिपोबाट पम्पसम्म ढुवानी गर्ने गरी करिब दुई हजार ट्यांकर रहेका छन् । सबै ट्यांकरमा लकिङ सिस्टम जडान भएर कार्यान्वयनमा आएपनि पेट्रोलियम पदार्थ चोरी र मिसावटका घटना भने ज्युकात्युँ छन् ।

गत १२ असोजमा काठमाडौंको थानकोट डिपोमा ढुवानी गर्ने ट्यांकरमा लकिङ सिस्टम दुरुस्त हुँदाहुँदै पनि डिजेलमा मट्टितेल मिसावट गरिएको पाइएपछि प्रहरीले अनुसन्धान गर्दै आएको छ । त्यसैगरी मिसावटकै आशंका गरिएको ट्यांकर त्रिशुली नदीमा खसेको घटनामा समेत चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।इन्डियन आयल कर्पोरेशनले लक उपलब्ध गराएको भनिए पनि लकिङ सिस्टम जडान गर्न हालसम्म ३० करोड भन्दा बढी लगानी भइसकेको बताइएको छ । व्यवसायीहरुले आफै लगानी गरेको बताए पनि भाडाको रुपमा निगमबाट असुली गरिसकेको निगमको दावी छ । लकिङ सिस्टमको प्रयोग भएपनि मिसावट र चोरीका घटना घट्नुको सट्टा बढ्नुले निगमकै उच्च तहका कर्मचारीहरु र ट्यांकर व्यवसायीहरुकै मिलोमत्तोमा त यो काम भइरहेको छैन भन्ने प्रश्न उब्जिएको छ ।

लकिङ सिस्टम तोडेर नै चोरी र मिसावट गर्ने घटनामा कमी आए पनि लकिङ सिस्टम दुरुस्त हुँदाहुँदै मिसावट हुनुमा योजनाबद्ध ढंगले नै मास्टर किको दुरुपयोग भएको आशंका गर्दै अनुसन्धान अधिकृतहरुले अनुसन्धान अघी बढाएका छन् । यस्तो कार्य माथिल्लो तहसम्मको संलग्नता नहुने हो भने सम्भव नहुने  उनीहरुको दावी छ । निगम र आइओसीका कि म्यानहरुसँग मात्र रहने मास्टर की हराएको समाचारहरु यसअघि पनि सार्वजनिक हुँदै आएका छन् । कतै यस्तै मास्टर की प्रयोग गरि चोरी र मिसावट भएको हो कि भन्ने आशंका समेत गरि अनुसन्धान अघि बढाइएको छ ।

लकिङ सिस्टम राखिएका ट्यांकरमा समेत मिसावट र चोरीका घटना देखिएको बारेमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अनुसन्धान हुनुपर्ने बताए । ‘ पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु नेपालमा भन्दा बढी भारतको बाटोमा हिड्ने गर्छन् । यस्तो अवस्थामा नेपाल भित्र र भारतीय भूमिमा दुबै तिर अनुसन्धान हुन जरुरी छ । लकिङ गरिएका ट्यांङकरमा नै मिसावट देखिनु चाँही गम्भीर अनुसन्धानको बिषय हो,’ पौडेलले भने, ‘ मिसावट कसरी भइरहेको छ थाहा पाउन प्रहरीलाई समेत सहयोग गरिरहेका छौ ।‘ 

लकिङ सिस्टममा अख्तियारको चासो 

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्हिगमनपछि निमित्त कार्यकारीको जिम्मेवारी सुशील भट्टराईले पाएका थिए । भट्टराईकै पालामा ट्यांकरमा लकिङ सिस्टम जडान गर्ने कार्य कार्यान्वयनमा आएको हो । लकिङ सिस्टम जडान गर्नका लागि ट्यांकरहरुलाई भाडामा जोडेर प्रति ट्यांकर १ लाख ५० हजार भन्दा बढी रकम व्यवसायीहरुलाई निगमबाट भुक्तानी दिइएको निगमका कर्मचारीहरुले बताएका छन् । खरिद ऐनलाई समेत पालना नगरिकन निममबाट करोडौको भुक्तानी दिइएकोले अनियमितताको आंशका गरिएको छ । ट्यांकरमा जडित लकिङ सिस्टमको जडान र प्रयोगबारे के भएको हो ? भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान प्रक्रिया अघी बढाएको छ । 

लकिङ सिस्टम जोड्ने कार्यमा मर्मत सम्भारको खर्च समेत जोड्दा प्रतिट्यांकर १ लाख पचास हजार भन्दा बढी दरले करिब २९ करोड रुपैयाँ लागत निजी क्षेत्रको लागेको दावी व्यवसायीले गरेमन छन् । तर भाडामा जोडेर व्यवयासीहरुले निगमबाट सो रकम असुली गरिसकेको निगम स्रोतको दावी छ । निगमले समेत खरिद ऐनको पालना नगरिकन करौडौ रुपमा भुक्तानी दिइएको पाइएपछि अख्तियारले छानबिन थालेको हो । लकिङ सिस्टमको कुनै अध्ययन र मुल्य निर्धारण समेत नगरिकन मिलेमतोमा यति ठूलो रकम भुक्तानी गरेर अनियमिता गरेको आंशका एकातिर गरिएको छ भने अर्कोतिर ठूलो लगानी भएपनि तेलमा मिसावट र चोरी कार्य नरोकिनुले लकिङ सिस्टमको बिश्वसनियता माथि समेत प्रश्न उब्जिएको छ । 

लकिङ सिस्टमको नक्कली साँचो बनाउन नसकिने भनेर दावी गरिए पनि नक्कली साँचो बनाएर वा मास्टर्स कीको दुरुपयोग गरेर नै मिसावट भएको हुनेमा निगमकै कर्मचारीहरु निष्कर्षमा पुगेका छन् । आइओसीले पनि यसको प्रयोग सुरुको दिनमा गरेको भएपनि तेलको चोरी र मिसावट नरोकिएपछि २००२ बाट नै हटाएर प्रबिधियुक्त सिस्टम जडान गरिसकेको छ । निगमले भने भारतले समेत त्यति अगाडि हटाइसकेको सिस्टम किन भित्रायो प्रश्न उब्जिएको छ ।

गत माघयता चोरी एवंम मिसावटका धेरै घटना सार्वजनिक भएका छन् । जबकी लकिङ सिस्टम जडान गर्दा ट्यांकरको एउटा साँचो इण्डियन आयल कर्पोरेसन (आइओसी) का की म्यानसँग र अर्को नेपाल आयल निगमका डिपोमा रहेका कि म्यानसँग मात्र रहने व्यवस्था छ । नक्कली साँचो बनाउन नसकिने बताइए पनि साँचोको दुरुपयोग कसरी भइरहेको छ भनेर अध्ययन गर्नुपर्ने निगमकै अधिकारीहरु बताउँछन् ।  

ट्यांकरमा गरिएको लगानी, निगमको खर्च, ट्यांकरको संख्या, साँचोहरुको पछिल्लो अवस्था लगायतका विषयमा जिज्ञासा राख्न भट्टराईसँग सम्पर्क गर्दा उनले यसबारेमा कुरा गर्न चाहेनन । आफ्नै नेतृत्वमा कार्यान्वयनमा आएको लकिङ सिस्टम माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएपछि क्वारेन्टाइन बस्ने भन्दै निगमबाट विदा लिएर कार्यालय नगइ बसिरहेको निगमकै कर्मचारीले बताएका छन् ।

लकिङ सिस्टम कार्यान्वयनमा आएपछि केही समय पेट्रोलियम चोरी र मिसावटको घटना नसुनिएपनि पछिल्लो बढ्दै गएको बिषयमा निगम थानकोट डिपो प्रमुख प्रदीप यादव भन्छ्न, ‘सुरु सुरुमा चालकलाई चोरी गर्ने,  मिसावट गर्ने तरिका थाहा थिएन होला । अहिले भारतीय चालकबाट सिकेर पो हो कि?’

कसरी हुन्छ नियन्त्रण ?

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल प्रविधिमा लगानी बढाउँदै आधुनिक किसिमको लकिङ सिस्टम जडान गर्न सकेमा मिसावट नियन्त्रणमा आउने उनको दावी गर्छन । अहिलेको लकिङ सिस्टमको जिम्मेवारीबाट पन्छिँदै आधुनिक किसिमको लकिङ सिस्टम जडान गर्नुपर्नेमा उनको जोड देखिन्छ ।

पेट्रोलियम व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लकिङ सिस्टम व्यवस्थापनको जिम्मेवारी निगमले लिएमा पेट्रोलियम पदार्थ चोरी र मिसावटका घटना नियन्त्रण हुने तर्क गर्छन् । ‘लकिङ सिस्टम चुस्तदुरुस्त बनाउने हो भने एक लिटर पनि चोरी हुँदैन र मिसावट पनि हुँदैन’ प्रधान भन्छन्, ‘निगमले लकिङ सिस्टम व्यवस्थापनको जिम्मेवारी लिनु पर्यो । अटोमेटिक नियन्त्रणमा आउँछ ।’



लोकप्रिय समाचार
नयाँ