काठमाडौं । भूमि व्यवस्था मन्त्रालयलय नापी सेवाका प्रमुख नापी अधिृकत (उपसचिव सरह)मा करिब ६२जनाको दरबन्दी छ । तर ति ६२ मध्ये करिब ४-५ भाग्यमानी उपसचिवहरू मात्रै सधैंभर काठमाडौंमै किलो गाडेर बस्दै आएका छन् । कारणबश काठमाडौ बाहिर गए भने आकर्षक मानिने चितवन, कास्की, मोरङमा जस्ता जिल्लामा जाने गर्छन, त्यो पनि छोटो समयकोलागि । फेरि केके मिलाएर हो काठमाडौंमै फर्कन्छन् । नापी विभागका कर्मचारीहरु सबैभन्दा बढी आकर्षक काठमाडौं उपत्यकालाई मान्छन् । उपत्यका पछि कास्की, मोरङ, चितवन लगायतका जिल्लालाई आर्थिक कारणबाट आकर्षक जिल्ला मान्ने गर्छन । तर ४-५ जना बाहेक अन्य उपसचिवहरुले भने कहिले काठमाडौं देख्नु परेको छैन ।
वेमौसम पारेर भूमि व्यवस्थाले असोजको अन्तिम साता केही ठाउँमा नापी विभागका उपसचिवहरुलाई अदलबदल गर्यो । अदल बदलमा काठमाडौं उपत्यकाकामा रहेकाहरु काठमाडौ उपत्यकामै रहे । उनीहरु उपत्यकाका एक कार्यालयबाट अर्को कार्यांलयमा सरुवा भए । नापी कार्यालय डिल्लीवजारबाट, नापी कार्यालय चितवन हुँदै पुन काठमाडौ उपत्यकामा आएका छन्, मग्नु दत्त । उनी सधैभर काठमाडौंमै बस्ने कर्मचारीको रुपमा चिनिन्छन् । ‘दत्तले मन्त्रीलाई रिझाउन जानेकाछन् । त्यसैले काठमाडौ छाड्नु परेको छैन’ दत्तलाई चिनेका कर्मचारीहरु बताउँछन् ।
यसैगरी दामोदर वाग्ले नापी कार्यालय मोरङबाट नापी कार्यालय ललितपुरमा सरुवा भएका छन् । वाग्ले नेपाल कम्युनिष्ट पार्टी निकट मानिन्छन् । उपसचिवमा बढुवा हुनु अघि उनी तत्कालिन एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध थिए । यसैगरी उपसचिवद्धय सुरेश जोशी र दुर्गादास महर्जन विगत ५ वर्षदेखि काठमाडौंमै छन् । हाल महर्जन नापी कार्यालय चाबहिल र जोशी नापी कार्यालय कलंकीमा छन् । दुई बर्ष पहिले महर्जन र जोशी अदलबदल भएका थिए । अदलबदल हुँदा कलंकीका हाकिम चावहिलमा गए भने चाबहिलका हाकिम कलंकीमा गए । तर उपत्यका बाहिरका कसैले काठमाडौ छिर्ने मौका पाएनन् । नापी कार्यालय भक्तपुरका प्रमख ज्ञानेन्द्र विष्टको सरुवा मिनभवनस्थित विभागको मुख्य कार्यालयमा भएको छ ।
रमाइलो कुरा के भने आर्थिक हिसाबबाट छोटो समयमा ठूलो प्रगति गरेका हाकिमहरु नै सधैंभर काठमाडौं उपत्यका र कहिलेकाँही आकर्षक मानिने जिल्लामा सरुवा हुने गरेका छन् । ‘मन्त्रीज्यूले पनि त्यस्तै हाकिमहरुलाई बढी मन पराउनु हुन्छ’ पहाडी जिल्लामा पुगेका एक उपसचिव गुनासो गर्छन । स्रोत भन्छ, यसपटक नापीका उपसचिवहरुको सरुवा गर्दा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको चाहनाबाट भएको हो । दशैं अगाडी अचानक सरुवा गर्न अर्यालले दिएको सूचिको आधारमा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सरुवा गरेको स्रोतको दाबी छ । दशैं अगाडी यो सरुवा पनि धेरैलाई आश्चर्य लागेको छ मन्त्रालयकै एक वरिष्ठ कर्मचारीले बताए । यस्तै बेथिति मालपोत कार्यालयमा पनि हुने गरेको छ ।
भूमि व्यवस्था मन्त्री अर्यालले पूर्व माओवादी निकट कर्मचारीलाई समेत पाखा लगाएर छानी छानी पूर्व एमाले निकट कर्मचारीलाई मात्र अवसर दिने गरेको गुनासो पूर्व माओवादी निकट अर्का एक कर्मचारीको गुनासो छ । निजामती सेवा ऐन २०४९मा उपसचिवभन्दा मुनिका कर्मचारीहरुलाई सामान्यतया दुई वर्षसम्म सरुवा नगर्ने व्यवस्था गरिएको छ तर सरुवा गर्दा सरुवासम्बन्धी मापदण्ड सधै उल्लंघन गर्ने गरिएको छ ।