काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै हटाउन नसकेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिने भन्दै जगेडामा राखेका छन् । जिम्मेवारी तोक्ने कुनै ठाऊँ भएन भने निजामति कर्मचारीलाई जगेडामा राखिए झै प्रधानमन्त्री ओलीले मन्त्री पोखरेललाई पनि त्यसै गरेर निरन्तरता दिएका छन् । यसलाई अर्को अर्थमा भन्ने हो एक प्रकारको फाजिलमा राखिएको भनिन्छ । प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद् विस्तारमा उपप्रधानमन्त्री जस्तो व्यक्तिलाई पनि अघोषित रुपमा जगेडामा राखिदिएर सबैलाई चकित पारिदिएका छन् ।
वर्तमान सरकार गठनको शुरुवातमै अर्थ मन्त्री हुन लागिपरेका उनी डा युवराज खतिवडाका कारण रक्षामा धकेलिएका थिए । त्यहि सरकारमा भएकै वहानामा पार्टी एकतापछि उनको महासचिव पद पनि खोसुवामा परेपछि उनलाई निकै पीडा भएको थियो । बुधबारको मन्त्रिपरिषद् विस्तारमा पनि उनको रक्षा मन्त्री पद खोसुवामा पर्यो । उनलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय हेर्नेगरि तानिएको छ । ‘ कर्मचारीलाई त जगेडामा राख्ने गरिएको थाहा थियो तर उपप्रधानन्त्री हैसियतको मन्त्रीलाई नै जगेडामा राखिएको पहिलोचोटी थाहा पाइयो,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने ।
पछिल्लो समयमा मन्त्री पोखरेलको विषयलाई लिएर नेपाली सेनाले प्रधानमन्त्रीसँगै असन्तुष्टी पोखेको समाचार बाहिर आएको थियो । उनले सेनालाई लकिरको फकिर भन्ने संज्ञा दिएपछि निकै विवादमा परेका थिए । त्यस्तै ठेक्कापट्टा लगायतका विषयमा अनावश्यक हस्तक्षेप र दुःख दिने गरेको भन्दै सेना उनीप्रति असन्तुष्ट रहेको थियो । प्रधानमन्त्री ओलीसँग प्रधानसेनापति पूर्णचन्द्र थापा आफैले रक्षामन्त्रीसँग काम गर्न नसिकने भन्दै गुनासो गरेका थिए । त्यत्ति मात्र होइन, कोरोना महामारीका बेला स्वास्थ्य सामाग्री खरिदको घोटाला प्रकरणमा पनि उनी विवादमा तानिएका थिए । पोखरेलका यस्ता धेरै प्रकरणले सरकार असफल भएको निष्कर्ष निकाल्दै ओली समूहका केही नेताहरुले मन्त्रिपरिषदबाटै हटाउन दबाब दिएका थिए ।
प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त तीन मन्त्रालयमध्ये अर्थमा विष्णु पौडेललाई ल्याएका छन् । वालुवाटार जग्गा प्रकरणमा मुछिएका पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर पुरस्कृत गरेका हुन् । ५ नं प्रदेशको राजधानी बुटवलबाट दाङ पठाएर उनी अर्थमन्त्री बनेको भन्ने आरोप पनि लागेको छ । संचारमा पार्वत गुरुङ ओली समूहका नेता हुन् । अरबौको परियोजनाहरु चलिरहेको सञ्चार मन्त्रालय गुरुङलाई जिम्मेवारी दिइएको छ । प्रचण्डले सञ्चार मन्त्रालय आफ्नो समूहलाई दिनुपर्ने भन्दै प्रधानमन्त्रीसँग लामो रस्साकस्सी गरेका थिए ।
बुधबार ओली प्रचण्डको भेटघाटमा तत्कालै मन्त्रिपरिषद विस्तार नगर्न आग्रह गरेको भएपनि ओलीले भने साँझ नै मन्त्रिपरिषद बैठक विस्तार गरिदिए । ‘पार्टीमा छलफल गरेर गर्नुपर्नेमा त्यसो हुन सकेन । जनताको अपेक्षा अनुसारको काम गर्ने व्यक्तिलाई मन्त्रिपरिषदमा लैजानु पर्नेमा अहिले त्यो भएन । यो स्थायी कमिटी बैठकको निर्णयको विरुद्धमा छ ,’ प्रधानमन्त्रीले यस्तो निर्णय गरेपछि प्रचण्डले आफू निकटका नेताहरुसँग भनेका छन् ।
मन्त्रीहरुको नाम टुंगो लगाउनुपूर्व अध्यक्षद्वय ओलीप्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । ओलीले मन्त्रीपरिषद् बिस्तार तथा हेरफेरका लागि प्रस्ताव गरेपछि प्रचण्डले थप छलफल गरेर बिस्तार गर्न आग्रह गरेका थिए । तर, ओलीले आफूले मन्त्रिपरिषद् बिस्तार र हेरफेर गर्ने जानकारी गराएका बालुवाटार स्रोतले जनाएको छ । विशेष गरी प्रचण्डको असहमति सञ्चार मन्त्रालयमा रहेको स्रोतको दावी छ । शहरी विकासमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरेका छन् भने महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिईएको छ । श्रेष्ठ २०७० को संविधान सभा निर्वाचनमा अहिलेका कार्यकारी अध्यक्ष प्रचण्डसँग थोरै मतले हारेका थिए ।