काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पुनःशीर्ष स्थानमा पुगेको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली फेरि शीर्ष स्थानमा पुगेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले ८ विकेटको नोक्सानीमा १ सय ४८ रनमात्र बनाउन सक्यो ।
राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २–२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ५७ तथा कप्तान श्रेयस आयरले ५३ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १–१ विकेट लिए ।
सन्दीपले खेल्न पाएनन्
८ खेल खेलिसक्दा नेपाली स्पिनर सन्दिप लामिछाने खेल्न पाएका छैनन् । उनले पहिलो पटकमा ३ र दोस्रो पटकमा ६ खेल खेलेका थिए ।
यसअघिका दुई संस्करणमा दिल्लीले कमजोर प्रदर्शन गरेको थियो । यसपटक दिल्ली धेरैजसो समय शीर्ष स्थानमा रहँदै आएको छ ।
यसले गर्दा पहिलो सेटनै सशक्त देखिएकाले सन्दीपले अवसर पाएका छैनन् ।
अंक तालिका
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो ।
पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।
१ खेल कम खेलेको मुम्बई इन्डियिन्स र रोयल च्यालेन्जर्स बैंगलोरको १० अंक छ । कोलकाता नाइट राइडर्सको ८ अंक छ ।
बिहीबारको खेल
बिहीबार बैंगलोर किंगस इलाभेन पन्जाब खेल्नेछन् ।
शारजहाँ क्रिकेट स्टेडियममा हुने खेलमा २ अंकबाट पुछारमा रहेको पन्जाब कमब्याक गर्न प्रयासरत हुनेछ ।