बैतडी । नेपाली कांग्रेसका नेता वीरबहादुर विष्टमाथि आक्रमण भएको छ । कांग्रेस बैतडीका सचिव, सुर्नया गाउँपालिका बैतडीका अध्यक्ष तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विष्टमाथि आक्रमण भएको हो ।
उनीमाथि भएको आक्रमणको विषयलाई लिएर जिल्ला कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कार्वाही गर्न माग गरेको छ ।
सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर झडप हुँदा गाउँपालिका अध्यक्ष विष्टसहित १७ जना घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
सुर्नया खोला वारि र खोला पारि केन्द्र राख्ने बिषयमा गाउँपालिकामा लगाइएको ताला बुधबार अध्यक्षले प्रहरी लगाएर खोल्ने क्रममा सुर्नया गाउँपालिका संघर्ष समितिबीच झडप हुँदा उनीसहित १७ जना घाइते भएका हुन् ।
झडपमा विष्टसँगै चार जना प्रहरी पनि घाइते भएका छन् । सबैको अवस्था सामान्य रहेको र सबै घरमै रहेको स्थानीय कांग्रेस नेता रिजन मदाईले बताए ।
गाउँपालिकाको केन्द्रका बिषयमा विवाद हुदाँ स्थानियवासीले तालाबन्दी गरेका थिए। गाउँपालिकाले असोज २२ गते केन्द्र सार्ने निर्णय गरेको थियो ।
यो विषय अहिले अदालतमा पुगेको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका बेलामा पूर्ण फैसला नआउन्जेल यथास्थानबाटै कार्य संचालन गर्न अन्तरिम आदेशसमेत दिएको छ ।