सप्तरी । यहाँ थप एक कोरोना संक्रमितको बिहिबार मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको बिहिबार घरमै मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा संक्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए ।
शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिए ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन् । संक्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये एक हजार १५१ जना निको भएका छन् ।