arrow

बाबुरामको मर्यादा चौथोबाट पहिलो होला ?

जसपाको दोश्रो कार्यकारिणी समितिको बैठक बस्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २९ बिहिबार
baburam2.jpg

काठमाडौं। पार्टी स्थापना पछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक दोश्रो पटक आगामि कात्तिक ३ र ४ गते बस्दैछ । सो बैठकले बाबुराम भट्टराइको मयार्दा टुंगो लगाउने भएको छ । बैठकको पहिलो एजेण्डा नै भट्टराइको मयार्दा टुंगो लगाउने र दोश्रो एजेण्डा केन्द्रीय समिति गठन गर्ने विषयमा केन्द्रित हुनेछ । 

३ र ४को बैठकमा राष्ट्रिय परिषद्को टुंगो लगाइने पार्टीका नेताहरुले जनाएका छन् । राष्ट्रिय परिषद गठन भएमा बाबुरामले सो निकायको नेतत्व गर्ने भएका छन् । जसपाको विधानमा राष्ट्रिय परिषद्को अध्यक्षको मर्यादा कार्यकारिणी समितिको अध्यक्षभन्दा माथि छ । पहिलो मर्यादामा राष्ट्रिय परिषद अध्यक्ष तथा दोश्रो मर्यादामा कार्यकारिणी समितिको अध्यक्षको व्यवस्था विधानमा गरिएको छ । अहिले कार्यकारिणी समितिको अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव छन् । यदि बाबुरामलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिने हो भने उनको मर्यादा ठाकुर र यादवको भन्दा माथि हुने छ । कार्यकारिणी समितिका सदस्य तथा पूर्व राजपाका महासचिव केशव झाले कात्तिक ३ र ४को बैठकले  राष्ट्रिय परिषद्को अध्यक्ष टुंगो लगाउने बताउदै भने ‘राष्ट्रिय परिषद्को नेतृत्व बाबुराम भट्टराइजीले गर्नेमा कुनै शंका छैन ।’

निर्वाचन आयोगमा डकुमेण्ट बुझाउन जाँदा राष्ट्रिय परिषद्को टुंगो नलागेर भट्टराईको मर्यादा चौथौ स्थानमा राखिएको उनले बताए । तर बाबुरामको मर्यादा महन्थ र उपेन्द्रभन्दा पनि अगाडि हुनेमा जसपाका नेता तथा कार्यकर्ताहरु शंका गर्छन। कार्यकारिणी समितिका अर्का एक सदस्य भन्छन, ‘बाबुरामजीलाई पहिलो मर्यादामा राख्ने खोजेको भए पहिले नै राख्ने थियौ । किन टिपेक्स लगाएर चौथौ नम्बर राख्नु पर्‍थ्यो र ?’ बाबुरामको स्थान महन्थ र उपेन्द्र पछि राख्न सकिने उनको भनाइ छ । बाबुरामलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिने तर मर्यादामा महन्थ र उपेन्द्रभन्दा पछि राख्ने हो भने पार्टीको विधान परिर्वतन गर्नुपर्ने हुन्छ । 

यसअघि जसपाले निर्वाचन आयोगमा पार्टीको डकुमेण्ट बुझाउँदा नेताहरुको मर्यादामा टिपेक्स लगाइ बाबुरामको स्थान चौथौ नम्बरमा राखेका थिए । पार्टी स्रोतका अनुसार, त्यतीखेर बाबुरामलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिने आश्वासन जसपाका नेताहरुले दिएका थिए । पार्टीको विधान अनुसार राष्ट्रिय परिषद् १ हजार १ सय एक सदस्यीय हुनेछ । केन्द्रीय समितिले गरेको निर्णयलाई समेत उल्टयाउन सक्ने अधिकार राष्ट्रिय परिषद्लाई दिइएको छ । जसपा गठन हुनु अघि पूर्व समाजवादीमा बाबुरामले राष्ट्रिय परिषदको नेतृत्व गरेका थिए । बाबुरामले अहिले सोही स्थान खोजेको बाबुराम निकट नेताहरु बताउछन् । ‘उहाँ (बाबुराम)को चाहना पनि राष्ट्रिय परिषद् अध्यक्ष हुने नै हो’ बाबुराम निकट एक नेताले भने । पार्टीभित्र अहिले बाबुराम निकै सक्रिय छन् । कोरोनाको आतंकको बेलामा पनि उनी पार्टी प्रवेश कार्यक्रममा भाग लिन पर्सा पुगेका छन् । पर्सामा २ वटा पार्टी प्रवेश कार्यक्रम सहभागि भएर भट्टराई हालैमात्र काठमाडौं फर्केका छन् । 

यसअघि साउनको २१ देखि २४सम्म जसपाको पहिलो कार्यकारिणी समितिको औपचारिक बैठक बसको थियो । कात्तिकमा बस्ने बैठक दोश्रो औपचारिक बैठक हुनेछ । जसपाले अहिलेसम्म केन्द्रीय समिति गठन गर्न सकेको छैन । केन्द्रीय समिति तत्काल गठन गर्न पार्टीका दोश्रो तहका नेताहरुले जसपा नेतृत्वलाई दबाब दिइरहेका छन् । गत वैशाखमा हतार हतारमा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादीवीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो । 



लोकप्रिय समाचार
नयाँ