काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु उत्कर्षमा पुगेका छन् । एकैदिन बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । बिहीबार अहिलेसम्मकै बढी ३ लाख ९८ हजार ६०९ जना संक्रमित भेटिएका हुन् ।
यो अहिलेसम्मकै एकैदिनको बढी संख्या हो । यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी ३ लाख ८२ हजार १३८ जना संक्रति थपिएका थिए ।
जाडो मौसम बढ्दै जाँदा यो संख्यामा अझै बढोत्तरी हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।
बिहीबार सबैभन्दा बढी अमेरिकामा ६६ हजार १२९ जना संक्रमित थपिए । लामो समयपछि पहिलो पटक अमेरिकाले भारतलाई उछिनेको हो । निरन्तर भारतले उछिन्दै आएकोमा बिहीबार ६० हजार ४३९ जना संक्रति थपिए ।
त्यस्तै फ्रान्समा ३० हजार ६२१, ब्रजिलमा २९ हजार ४९८, बेलायतमा १८ हजार ९८०, अर्जेन्टिनामा १७ हजार ९६, रुसमा १३ हजार ७५४ र स्पेनमा १३ हजार ३१८ जना थपिए ।
नेपालमा ३ हजार ७४९ जना थपिए ।
विश्वभर अहिलेसम्म ३ करोड ९१ लाख ५७ हजार ९२३ जना संक्रमित भएका छन् । ११ लाख २ हजार ८१४ जनाको ज्यान गइसकेको छ भने २ करोड ९३ लाख ७५ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।