arrow

बसपार्कमा छैन चहलपहल, सबै सिटमा यात्रु राख्न पाउने निर्णयबारे के भन्छ यातायात विभाग?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
ticket-buspark.jpg

काठमाडौं । विगतका वर्षहरुमा दशैं नजिकिँदै जाँदा काठमाडौंका बसपार्कहरुमा निकै चहलपहल हुने गरेकोमा यस वर्ष भने खासै चहल पहल छैन । खास गरेर काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा विगतका वर्षहरुमा दशैंको पूर्वसन्ध्यामा हुने किसिमको भीडभाड यस वर्ष छैन । कोरोना महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द भएका सार्वजनिक सवारी गत १ असोजदेखि आधा यात्रु राखेर सञ्चालन गर्न पाउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो । शनिबार देखि विजयादशमी सुरु हुन भएपनि यस वर्ष बसपार्कमा खासै चहल पहल नभएको बस व्यवसायी बताउँछन् ।

कोरोनाको महामारी फैलिएकोले केही यात्रु यसअघि देखि नै गाउँमा भएका र केहीले गाउँ फर्किनै नचाहेका कारण यात्रुको सँख्या उल्लेखनीय नभएको व्यवसायी बताउँछन् । यातायात व्यवसायी राष्ट्रि महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य यात्रु नभएकाले यस वर्ष टिकेटको अग्रिम बुकिङ खुला गर्न नसकेको बताउँछन् । यात्रु नभएकोले धेरै जसो बस रित्ता पठाउनु परेको कर्माचार्यले बताए । उसो त पछिल्लो समय सरकारले सार्वजनिक सवारीमा क्षमता अनुसार सबै यात्रु राखेर यात्रा गर्न पाउने निर्णय गरेको समेत आफुले सुनेको कर्माचार्य बताउँछन् । तर, आधिकारिक रुपमा आफुहरुलाई सरकारबाट केही जानकारी नआएको उनको भनाई छ । ‘क्षमता अनुसारको यात्रु राख् पाउने मैले पनि सुनेको हुँ’ उनले भने, ‘सरकारबाट आधिकारिक रुपमा अहिलेसम्म केही पनि जानकारी आएको छैन ।’ क्षमता अनुसार यात्रु राखेर सवारी चलाउन पाएपनि यात्रु नपुग्ने उनको भनाई छ । गत चैतमा लकडाउन सुरु हुँदा र त्यसपछि असारमा लकडाउन खुकुलो गर्दा धेरै यात्रुहरु बाहिरि सकेका कर्माचार्यको बुझाई छ ।

यातायात व्यवस्था विभागले सवारी साधनमा क्षमताको आधा यात्रु राखेर डेढ गुणासम्म बढी भाडा लिएर सञ्चालन गर्न पाउने निर्देशिका यस अघि नै जारी गरेको थियो । निर्देशिका अनुसार यात्रुले यात्रा गर्ने ठाउँबाटै खाजा, पानी बोक्नु पर्ने लगायतका मापदण् राखिएका थिए । पछिल्लो समय मन्त्रीपरिषदले सवारी साधनमा क्षमता अनुसार सबै यात्रु राख्न पाउने निर्णय गरेको केही सञ्चार माध्यमहरुमार्फत थाहा पाएपनि आधिकारिक रुपमा जानकारी नआएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘पूर्ण क्षमतामा यात्रु राख्नेबारे सञ्चारमाध्यमहरुमार्फत हामीले पनि थाहा पाएका हौं’ उनले भने, ‘आधिकारिक रुपमा केही जानकारी आएको छैन । आएपछि सूचना निकाल्छौं ।’



लोकप्रिय समाचार
नयाँ