काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसामु अदृश्य शत्रुको रुपमा देखा परेको कोभिड–१९ महामारीको चुनौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नियन्त्रणमा आउन नसकेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उनले खुलेर प्रशंसा गरे । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आम समुदायसँग उनले अनुरोध गरे ।
प्रधानमन्त्री ओलीले भने, “संक्रमणको महामारीबाट कोही पनि भयभीत हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घातक रोगले कुनै पनि बेला कसैलाई पनि आक्रमण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।” उनले महामारीको घडीमा संक्रमण फैलिन निरोधात्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताए । उनले जोखिममा रहेर कर्तव्यपालनामा खटिँदा संक्रमित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गरे ।
प्रधानमन्त्री ओलीले ले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताए। प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी छ, भने ।
प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताए । “बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।” उनले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देश गरे । उनले कानून कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पुर्याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे ।
मुलुकको समृद्धि, समुन्नती र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु जरुरी रहेकोतर्फ प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीको ध्यानाकर्षण गराए । उनले त्यसैको जगमा बसेर कानूनी शासन, मानवअधिकार र सुशासन तथा विकासका आधार निर्माण हुने उल्लेख गरे । नेपाल प्रहरीलाई मुलुकको आन्तरिक सुरक्षाको मियोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यवोधले मात्रै मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्ने विश्वास व्यक्त गरे ।
उनले अपराधले भौगोलिक सीमाको पर्खाललाई तोडेको, अपराधको सञ्जाल अन्तरदेशीय विस्तार भएको र सञ्जालमा आधारित अपराधले विश्वभर आकार ग्रहण गरिरहेको सन्दर्भमा चनाखो हुन प्रहरीलाई आग्रह गरे । उनले विज्ञान, सूचना र प्रविधिको विकासले एकातर्फ मानिसको जीवनशैलीलाई सहज बनाएको तर अर्काेतर्फ यसको दुरुपयोगले दुखदायी घटना बेहोर्नु परिरहेको बताए । “ यस्तो अवस्थामा पर्याप्त सतर्क हुन सकेनौँ भने कठिनाई थपिन सक्छ, चुनौती नथपिउन् भनेर शुक्रबार देखा परेको चुनौतीको समय मै उपयुक्त ढङ्गले सामना गर्नुपर्ने हुन्छ”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले प्रविधिमा दक्ष तर सामाजिक र राष्ट्रिय जिम्मेवारीप्रति असंवेदनशिल समूहले स्वार्थ प्रेरित रुपमा फैलाउने अफवाह चुनौतीको रुपमा देखा परेको जिकिर गरे । उनले त्यस्ता गतिविधि विधिसम्मत रुपबाट कसरी निस्तेज गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन सम्बद्ध संस्था र व्यक्तिलाई सचेत गराए ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति सरकारको रहेको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले त्यसलाई पूर्ण कार्यान्वयनमा लैजान प्रहरीको महत्वपूर्ण भूमिका हुने बताए । उनले लोभलाभभन्दा माथि उठेर जनतालाई न्याय दिलाउनतर्फ लाग्न प्रहरीसँग आग्रह गरे । उनले देश र जनतालाई गलत सूचना दिएर गलत बाटोमा लैजाने चेष्टा भइरहेकोतर्फ प्रहरीको ध्यानाकर्षण गराए । प्रहरी माथिको विश्वास कमजोर हुँदा सम्बन्ध कमजोर हुँदै जाने र त्यसले कालान्तरमा शान्ति सुरक्षामा नै असर पुर्याउने भएकाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिए । उनले प्रहरीको संस्थागत हितमा सरकार सदैव साथमा रहेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको जगेर्ना गर्दै राष्ट्रभाव अभिवृद्धि गर्ने मुलुकको नीति विरुद्ध दिग्भ्रमित पार्ने कुचेष्टा भइरहेकोतर्फ सचेत हुन आम नागरिकलाई अनुरोध गरे । उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरे ।
गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विष्लेषण गरेर रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशनसमेत दिए । सङ्गठनको सुदृढीकरणमा मन्त्रालयको सकारात्मक सहयोग रहने उनले विश्वास दिलाउनुभयो । प्रहरीको मनोबल उच्च बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले समाज र प्रहरी एक अर्काबाट भिन्न हुन नसक्ने भएकाले सोचमा परिवर्तनको खाँचो औँल्याउनुभयो । उनले सङ्घीय संरचनामा गएपछि अग्रगामी विकास हुनेसमेत विश्वास व्यक्त गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम कारवाहीका बारेमा जानकारी गराउँदै एक वर्षमा ४० हजार मुद्दा अनुसन्धान गरेको जानकारी दिए । उनले पद्धतिको विकास गर्ने चरणमा प्रहरी सङ्गठन रहेकोसमेत बताए ।
प्रहरी महानिरीक्षक थापाले पछिल्लो समयमा गरिएको एक अनुसन्धानले सरुवा, बढुवा र मिसनमा खटिने प्रहरी चयनको मापदण्ड पारदर्शी गर्नुपर्ने आवश्यकता औँल्याएको बताए । उनले प्रहरीले जागिर छाड्नुपर्ने कारणको बारेमा उक्त अनुसन्धानले केही तथ्यहरु औँल्याएको बताए । समारोहमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरेका थिए।
सोही क्रममा सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले अमर प्रहरीका परिवारलाई छात्रवृत्ति प्रदानमा सहयोग पुर्याउने उद्देश्यले रु ११ लाखको ‘अच्युत– मीना अक्षयकोष’ स्थापना गरी प्रहरी महानिरीक्षकलाई नगद हस्तान्तरण गरे । समारोहमा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । रासस