विज्ञ सम्मिलित टोली पठाई चीनसँगको सीमा विवाद हल गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
जनकबहादुर शाही,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
100
Shares
हुम्ला। चीनसंग सिमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएकोमा सरकारले विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै कर्णाली प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाहीेले हुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता शाहीले प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
करिव डेढ महिना अघि हुम्लाको लिमी क्षेत्रमा पर्ने नेपाली भूमि मिचेर चिनियाँ पक्षले नौ वटा भवन बनाएको विषय बाहिर आएको थियो । सीमा मिचिएको विषयमा गम्भीर नबनेको भन्दै चर्काे आलोचना भएपछि सरकारले चीनले आफ्नै भूमिमा भौतिक संरचना बनाएको प्रतिक्रिया दियो । यो विवाद अहिले पनि टुंगिएको छैन । यही बीच स्थलगत अनुगमनमा पुगेर फर्किएको कांग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ मात्र होईन हिल्साामा पनि भूमि मिचिएको ठहर गरेको छ । चिनियाँ पक्षले सीमाभन्दा करिव डेढ किलोमिटर यता नेपालको भूमि ललोङजोङमा नौ वटा भवन बनाएको र हिल्सामा नेपाली भूमीमा रहेका सिमा स्तम्भलाई आफुतिर पारि नेपाली भुमीतिर तारबार गरेर नेपाली भूमी अतिक्रमण गरेको भन्दै कांग्रेसले छिटो भन्दा छिटो अध्ययन तथा अनुसन्धान गरेर कुटनीति पहल चाल्न सरकारसंग माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
कांग्रेस नेता शाहीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, "हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ६ लिमीको लाप्चा क्षेत्र वरिपरि रहेको ललोङजोङ भन्ने स्थानमा चीनले नेपाली भूगोल अतिक्रमण गरी नौ वटा नयाँ भौतिक संरचनाहरू निर्माण गरेको भन्ने त्यहाँका स्थानीय जनप्रतिनिधी र बासिन्दाहरूबाट केही महिना पहिले स्थानीय प्रशासन र राजनितिक दल समक्ष सुचनाहरू प्राप्त भएको थियो । स्थानीय बासिन्दाहरूको सुचनाका आधारमा चीनिया टोलीसंग बार्ता गर्न र त्यहाँको वास्तविकता बुझ्न हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीको टोली सिमास्थलको स्थलगत निरिक्षण गर्न गएको थियो । तर, उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन तयार गरी सरकारलाइ नवुझाउँदै नेपाल सरकार परराष्ट्र मन्त्रालयवाट हचुवा भरमा चीनले एक इन्च पनि नेपाली भूभि अतिक्रमण नगरेको र ललोङजोङमा निर्माण भएका नयाँ भौतिक संरचना चिनियाँ भूमि भित्र पर्ने विज्ञप्ति जारी भयो र प्रमुख जिल्ला अधिकारीबाट समेत चिनियाँ अतिक्रमणबारे वास्तविकता प्रतिवेदन पेश हुन नसकी सिमाका बिषयमा सत्य तथ्य वोल्न समेत आलटाल गरियो ।"
ज्ञापनपत्रमा अगाडी भनिएको छ, ' हुम्ला जिल्लावाट गएको सरकारी अधिकारीवाट सबै स्थानको स्थलगत निरिक्षण नभइ परराष्ट्र मन्त्रालय र चिनियाँ राजदुतावासको धारणालाई पुष्टि गर्ने गरी पेश भएको छलकपटपुर्ण प्रतिवेदन तथा बोल्न समेत आलटाल गरिएको व्यवहारले नेपालि भूमि भित्र निर्माण भएका चिनिया संरचनाहरूवारे थप रहस्य उत्पन्न भए पछि सम्वन्धित निर्वाचन क्षेत्रको जनप्रतिनिधी तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र एक जिम्मेवार नागरिकको हैसियतमा असोज १४ गते देखि ११ दिनसम्म नेपाल र चीन विचका सिमास्थल रहेको हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा स्थलगत अध्ययन कार्य सम्पन्न भएकाले हुम्ला जिल्लाको नाम्खा गाँउपालिका लिमी र हिल्सा क्षेत्रमा रहेका नेपाल र चीन विचका ५ (१) ५(२), ६(१), ७(१) ८(१) ९(१) र ९(२), १०, ११ र १२ नं सिमा स्तम्भहरूको स्थलगगत निरिक्षण गरे पश्चात चीनले नेपाली भूमि ललोङजोङमा भौतिक संरचनाहरू निर्माण गरेको, नेपालले गप्पुदोचादेखि निर्माण गरेको झण्डै २ कि.मि. सडक क्षेत्र अतिक्रमण गरेको, हिल्सास्थित ९(२) सिमा स्तम्भ रहेको दशगजा क्षेत्र, किटमा रहेका ५(१),५(२) र ६(१) सिमा स्तम्भहरूलाई तारबार गरी चिनियाँ भुगोलमा पारी नेपाली भूभागलाई अतिक्रमण गरि तारबार गरेको देखिएकाले “सिमा विज्ञ सहित परराष्ट्रविद, सुरक्षाकर्मीको टोलीलाई नेपाल र चीन विचको सिमास्थल रहेको हुम्ला जिल्लाको हिल्सा र लिमीमा यथासिघ्र पठाइ स्थानीय वासिन्दा र जनप्रतिनिधिहरूको उपस्थितिमा नक्शा भिडाएर वास्तविकता वाहिर ल्याउन र सिमा स्थलहरूको पुन सिमाङ्कन तथा नेपाल र चीनविच देखिएको सिमा विवादलाइ कुटनितिक माध्यमवाट स्थायी समाधान गर्ने ” बिषय बस्तु सहितका २ बुँदे माग सहित सम्माननीय प्रधानमन्त्री समक्ष उच्च प्राथमिकता दिएर सिमा सम्वन्धी विवाद समधानका लागि स्थलगत अध्ययनवाट प्राप्त प्रमाणहरूको संगालो यसै साथ संलग्न गरी ज्ञापन पत्र पेश गरेका छौं।"
नेपाली कांग्रेसको केन्द्रीय सदस्य एबं कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेताले जिल्ला प्रशासन कार्यालय मार्फत बुझाएको दस्ताबेज जस्ताको तस्तै प्रधानमन्त्री कार्यलयमा पठाउने प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरिले बताए । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेस सभापती जयपती रोकाया, नेपाली कांग्रेस माहासमिती सदस्य एबं सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, नेपाली कांग्रेस महासमिती सदस्य एबं खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावल, महिला संघका जिल्ला अध्यक्ष बिजया बुढा, कांग्रेस नेता मंगल शाही सहित कांग्रेस कार्यकर्ताको उपस्थिती रहेको थियो । १२ नम्बर सीमा स्तम्भ रहेको लाप्चा नजिकै लोलुङजोङमा चीन सरकारले नेपाली भूमि अतिक्रमण गरी आफ्ना भौतिक संरचना निर्माण गर्नुका साथै उक्त स्थानभन्दा झण्डै २ किलोमिटर टाढा मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाई समेत आफ्नो भूभाग दाबी गरेको र हिल्सा स्थित ९(२) सिमा स्तम्भ रहेको क्षेत्र, किटमा रहेका ५(१),५(२) र ६(१) सिमा स्तम्भहरूलाइ चिनियाँ भुगोलमा पारी नेपाली भूभागमा तारबार गरी अतिक्रमण गरेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।
सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेकाले नेपाली पक्षको अनुपस्थितीमा त्यसलाई आफूखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेको कांग्रेसको आशंका छ । यो द्विविधा र आंशका अन्त्य गर्नका लागि सरकारले सतही प्रतिक्रिया दिनुको सट्टा विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद जस्तो गम्भीर विषयलाई कुटनीतिक तवरले हल गर्न आवश्यक छ ।