काठमाडौं । वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैं भत्ता कोभिड -१९ को माहामारीको समयमा दिन अनुकूल नभएको भन्दै उक्त रकम फिर्ता गर्न विवेकशील नेपाली दल आह्वान गरेको छ । विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ती निकाली विवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने व्यहोरा जानकारी गराउँदै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न अपिल गरेकी छन्।
कोभिड-१९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यस अघि पनि सरकारलाई सुझाव दिएको राईले सम्झाएकी छिन्। वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटक पटक आवाज उठाएको पनि स्मरण गराएकी छिन्।
तर सांसदहरुको आवाजलाई वेवास्ता गर्दै प्रदेश सरकारले फजुल खर्च बढाउने तथा प्रदेश सांसद, मन्त्रीहरूलाई समेत दसैँ खर्च बाँड्ने कार्य गरेको विवेकशिलले बताएको छ । आम सर्वसाधारण नागरिकहरु रोग र भोकले एकैसाथ तड्पिरहेको अहिलेको अवस्थामा सांसद, मन्त्रीहरूले दशैं खर्च लिनु सर्वथा अनुचित कार्य भएको विवेकशिलको ठहर छ ।
विवेकशीलले मन्त्री, सांसादहरुलाई दशैं खर्च दिने कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दशैं खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गराएको छ। साथै, उसले वागमती प्रदेशमा रहेका आफ्ना सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रुपमा खातामा आइसकेको भए फिर्ता गर्ने समेत जानकारी गराएको छ।