झापा । बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै शनिवार बिहान झापाको बिर्तामोडमा महिलाहरुले फरक शैलीमा प्रदर्शन गरेका छन् । निधारमा कालोपट्टी बाँधेर बिर्तामोडको मुक्तिचोकमा भेला भएका महिलाहरु कालै पोशाकमा उपस्थित भएर प्रदर्शन गरेका थिए ।
उनीहरुले ‘अझै कति सहने’ भन्दै बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए । बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने भन्दै प्रदर्शनमा उपस्थित अभियानकर्मी प्रकृति न्यौपानेले बताइन् ।
उनी भन्छिन् ‘मृत्युदण्ड समाधान होइन, बलात्कारीलाई आजीवन काराबास हुनुपर्छ।’ मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कार नरोकिएको उनी बताउँछिन् ।
यसैगरी बुद्धशान्ति गाउँपालिकाका दुई भिन्न–भिन्न स्थानहरुमा महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । वर्ने चौक र बुधबारे चौकमा शनिबार किशोरीहरुले प्रदर्शन गरेका हुन् ।
स्वस्फूर्तरुपमा सहभागिता जनाएका उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले बुधबारे बजार परिक्रममा गरी इलाका प्रहरी कार्यालय अगाडि कोण सभामा परिवर्तन भएको र्यालीमा आत्मरक्षा कसरी गर्ने भनी सडक नाटकसमेत प्रस्तुत गरिएकोे बताइएको छ ।
सडकमा चर्को नाराबाजी समेत लगाएका उनीहरुले ‘अति भयो अब त पाउनै पर्छ सजाय बलात्कारीले’ भन्ने नारा लेखिएको व्यानर बोकेका थिए ।
साथै युवतीहरुले घरभित्र र बाहिर हुने सबै प्रकारका महिला हिंसा, बलात्कार, एसिड प्रहार लगायतका हिंसाविरुद्ध प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कोणसभामा महिला हिंसा विरुद्ध कविता बाचन र आत्मरक्षा सम्बन्धी नाटक प्रस्तुत गरी कोणसभालाई सम्बोधन गरिएको थियो ।
विरोधस्वरूप कालो पोशाक लगाएर प्रदर्शनमा सहभागी भएका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय बुधबारेका सुरक्षाकर्मीले साथ दिएका थिए ।
त्यस्तै गत बिहीबार दमकमा पनि नृत्य सहितको बलात्कार विरुद्धको प्रदर्शनी गरिएको थियो ।
विरोध कार्यक्रममा सहभागीहरुले नृत्यसहितको बलात्कार विरुद्धको प्रदर्शनी गरेका थिए ।
दमकका महिला समुहले गरेको उक्त कार्यक्रममा करिब ५० जना महिलाहरु सहभागी भइ संगीत र नृत्यसहित प्ले कार्ड बोकी सांकेतिक विरोध गरेका थिए ।
‘पितृसत्ता न्यायाधीश छ, जन्मदैँ हाम्लाई कैद गर्छ, तिमीले कहिल्यै नदेख्ने ,हिंसा, हामीले भोग्ने ! सजाय हो, पितृसत्ता न्यायाधीश छ, जन्मदैँ हाम्लाई कैद गर्छ, हामीले पाएको सजाय, दिनहुँ हुने हिंसा हो’ भन्ने नारा सहितको विरोध सहभागीले गरेका थिए ।