arrow

बडादशैंको दोस्रो दिनः ब्रह्मचारिणी माताको पूजा आराधना 

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
Dashain_nawaratri.jpeg

काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैंको दोस्रो दिन आइतबार विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार ब्रह्मचारिणीको पूजा गरिन्छ । 

देवी पुराणको ४५ औं अध्यायका अनुसार देवी ब्रह्माचारिणी हमेशा तपमा लीन हुन्थिन् । यसकारण उनको शरीरमा चमक आयो । त्यसैले त उनको रङ्ग सेतो बताइन्छ । ब्रह्माचारिणी तपको शक्तिकी प्रतीक मानिन्छिन् । हजारौं वर्ष उनले कठिन तपस्या गरिन् । यसकारण यिनको नाम ब्रह्माचारिणी राखियो । 

यिनको दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु हुन्छ । उनले एउटै सन्देश दिने गर्छिन् कि जीवनमा बिना तपस्या अर्थात् कठोर परिश्रम सफलता हासिल हुन्न । 

पूजाआजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण शक्तिपीठहरु स्थानीय प्रशासनहरुले खोलेका छैनन् । 

हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै शनिबारदेखि नवरात्र सुरु भएको हो । घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ ।

यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।



लोकप्रिय समाचार
नयाँ