हुम्ला। हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद जिवन बहादुर शाहीले हुम्लामा चीनले सीमा मिचेको बिषयमा अन्तराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराएका छन् । हुम्ला सदरमुकाम सिमकोटबाट अंग्रेजीमा एक भिडियो सन्देश जारी गर्दै शाहीले चीनले सीमा मिचेको बिषयमा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन्।
चीनले सीमा मिचेको जानकारी पाए लगत्तै सबै सीमा स्तम्भहरुको निरिक्षण गरेर सदरमुकाम फर्केका पूर्वमन्त्री समेत रहेका शाहीले सरकारको नियतमाथि गम्भिर प्रश्न उठाउँदै सीमामा चिनियाँ अतिक्रमणका बारेमा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । निरिक्षणबाट फर्केका शाहीले स्थानियहरुको भनाइ तथा अन्य तथ्यहरु समेटेर बनाएको निरिक्षण प्रतिवेदन समेत सार्वजनिक गरेका छन् । सोहि प्रतिवेदन समेत राखेर शाहीले प्रधानमन्त्री परराष्ट्र मन्त्री कर्णली प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
चीनसँग जोडिएको सीमा नाम्खाको लिमिलाप्चा लोलुङजोङमा सीमा मिचेर चिनियाँहरुले भवनहरु बनाएको ठाउँभन्दा केहि किलोमिटर अगाडीबाट विगतमा नेपालीहरुले नेपालतर्फ बाटो खनेको समेत शाहीले स्मरण गराए । चिनियाँ सीमातर्फबाट बाटो खन्दै नेपालतर्फ आइपुग्दा चिनियाँहरुले भवन बनाएको ठाउँमा दुईदेखि ३ किलोमिटर हुने उनले बताए। यदि नेपालीहरुको नभएको भए उनीहरुले किन बाटो खन्न दिएका थिए अनि नेपालीहरुले आवातजावत नभएको समय पारी किन भवन बनाएर कब्जा गरे उनले प्रश्न उठाए। नेपाली जमिनमा चिनियाँहरु अतिक्रमण गरि जवर्जस्ती बसेको उनले जानकारी गराए।
उत्तरी सीमामा रहेका नेपालीहरुका पिता पुर्खाको पालादेखि सो भूमी नेपालीहरुले नै हकभोग गर्दै आएपनि अहिले चिनियाहरुले कब्जा गरेदेखि आवातजावत पनि समस्या सिर्जना गरेको बताए । आफ्नो भूमिका बारेमा स्थानिय जनप्रतसनिधीहरुले कुरा उठाउँदा सरकारका परराष्ट्र मन्त्रीलाई चीनले सीमा नमिचेको प्रतिक्रिया दिन हतारो भएकोमा उनले आश्चर्य प्रकट गरे । जिल्लाबाट खटिएका सरकारी अधिकारीहरुले सरकारलाई प्रतिवेदन दिनुअघी नै सरकारले हतारमा प्रतिक्रिया दिएर सहि काम नगरेको उनले बताए।
नेपाल कहिले पनि कसैको उपनिवेश हुनुनपरेको स्मरण गराउँदै शाहीले तर सरकारका मन्त्री र अधिकारीहरुको व्यवहारले नेपालीहरुलाई नै लज्जित तुल्याएको बताए । सीमामा स्तम्भहरु भत्काइएको, नयाँ बनाएर हालेको, सीमास्तम्भमा नै संरचना बनाएको र घेराबन्दी गरेका तथा सीमामा रहेका चिनियाँ सुरक्षाकर्मीहरुले नेपालीहरुमाथि दुर्व्यवहार जस्ता गतिविधीहरु आफूहरुले प्रत्यक्ष देखेर भोगेर आएको सुनाउँदै शाहीले विज्ञहरु पठाएर सबै सीमास्तम्भहरुको अध्ययन अनुसन्धान गर्न माग गरे । तर सरकार त्यसतर्फ क्रियाशिल हुनुभन्दा पहिले नै चीनले सीमा मिचेको छैन भनेर जवाफ दिन हतारो गरेकोमा उनले आश्चर्य जनाए।
नेपाल कमजोर होला, सानो होला तर स्वाभिमानका साथ सीमाको बिषयमा कुरा राख्दा हामी माग्ने होइनौ भन्ने कुरा छिमेकीले बुझ्नुपर्ने शाहीले बताए । ८ मिनेट लामो भिडियोमा उनले भनेका छन, ‘ संसारले यो बुझ्न जरुरी छ की नेपालम भन्दा अत्यन्तै ठूलो महाशक्ति राष्ट्र चीनले आफ्नो कमजोर छिमेकीको सीमा मिचेर जमिन कब्जा गरेको छ । सीमामा भएका यस्ता सबै अतिक्रमण अन्त्य गरि सारा हुम्लीसँगै नेपालीलाई न्याय चाहिएको छ ।’