arrow

बाँकेमा सशस्त्रका चार वटा बिओपी उद्घाटन, बर्दियामा एउटा स्थापना 

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
bop1.jpg

नेपालगञ्ज । बाँकेमा थप ४ वटा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । कालाबञ्जार, खडैंचा, जमुनाहा र कट्कुइँयामा स्थापना गरिएका विओपीको आज लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख किशोर प्रधानले उद्घाटन गरेका छन्।

विभिन्न विओपीहरुको उद्घाटनका क्रममा प्रधानले सशस्त्र प्रहरीले चोरी पैठारी, अवैध सामान ओसारपसार, चेलीबेटी बेचबिखन रोकथाम, सीमा सुरक्षा लगायतका कार्य गर्दै आएको बताए । उनले अवैध तस्करी हुँदैछ भन्ने जानकारी पाएमा सशस्त्र प्रहरीलाई खबर गर्न स्थानीयलाई अनुरोध समेत गरे । लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रधानले थपिएका विओपीहरुले अवैध तस्करी रोकथाम गर्न सहज हुने विश्वास व्यक्त गरे । "पानी समेत नभनी सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षाका लागि धन्यवाद समेत दिन चाहन्छु," उनले भने । मानव अधिकारको पालना गर्दै भारतको सीमा सुरक्षा बल लगायत स्थानीय र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग समन्वय गरेर काम गर्न प्रधानले निर्देशन समेत दिए ।

विओपी उद्घाटन कार्यक्रममा बाँकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख अशोक बम, अनुसन्धान बिभाग बाँके प्रमुख उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, डुडवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, नेपाली सेनाका प्रतिनिधि लगायत उपस्थित थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्बाङले अवैध तस्करी रोक्न सबैको कर्तब्य हुने बताए । उनले सीमामा बस्ने सशस्त्र प्रहरीले राम्रो कार्य गरिरहेको भन्दै अझ परिणाम निस्कने गरी कार्य गर्न निर्देशन समेत दिए ।

नेपालगञ्जस्थित जुमनाहा बिओपीको उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक जीवननलाल बुढाले गरेका थिए । कालाबञ्जार बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीले गरेका थिए । लुम्बिनी प्रदेश अन्तर्गत् सशस्त्र प्रहरीको बिओपीमा नेपालगन्जको कालबञ्जार भदौ महिनाको उत्कृष्ट बिओपी भएकाले सशस्त्र प्रहरी निरिक्षक डाँगीलाई धन्यवाद दिइएको थियो । 

त्यस्तै खडैंचा बिओपी उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक विशाल पाण्डेले गरेका थिए । त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरीले बिओपी स्थापनाले चोरी नियन्त्रण हुने विश्वास व्यक्त गरे। उनले खडैंचा बिओपीलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।

कटकुइँया बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक धिरेन्द्र बडवालले गरेका थिए । कार्यक्रममा विशिष्ट आतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा रहेका सबै बिओपी तस्करी विरुद्ध कडारुपमा उत्रिएको भन्दै सशस्त्र प्रहरी जनतासंग हातेमालो गर्दै अगाडि बढेको बताए । गाउँपालिका क्षेत्रभित्र रहेका ३ वटा बिओपीलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

उता शसस्त्र प्रहरी बल नेपाल ३१ नम्वर गणको बोर्डर आउट पोष्ट बर्दियाको मधुवन नगरपालिकाको वडा नम्वर ३ भगरैयामा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले नै उद्घाटन गरे । त्यस अवसरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मधुवन नगरपालिकाका मेयर गणेश क्षेत्री र सशस्त्र प्रहरी बल ३१ नम्वर गणका गणपति नरवहादुर रावलको पनि उपस्थिति थियो ।



लोकप्रिय समाचार
नयाँ