काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु लगातार तेस्रो दिनसम्म उत्कर्षमा पुग्दा शनिबारदेखि घट्दै गएका छन् । एकैदिन शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखिएका थिए । शुक्रबार एकैदिन मात्रै ४ लाख १२ हजार ९१७ जना संक्रमित थपिएका थिए ।
बिहीबार त्यो दिनसम्मकै अहिलेसम्मकै बढी ३ लाख ९८ हजार ६०९ जना संक्रमित भेटिएका थिए । यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी ३ लाख ८२ हजार १३८ जना संक्रमित थपिएका थिए ।
शनिबार भने ३ लाख ७२ हजार १२० जना संक्रमित थपिए । आइतबार अझै घटेर ३ लाख २४ हजार ९२६ जना मात्र संक्रमित थपिए । मृतकको संख्या पनि घटेर ३ हजार ९७१ मा आइपुगेको छ ।
आइतबार सबैभन्दा बढी फेरि भारतमै संक्रमित थपिएका छन् । लगातार दुई दिनसम्म अमेरिकाले भारतलाई पछाडि पारेको अवस्थामा शनिबारदेखि भारत अगाडि लागेको छ । आइतबार ५५ हजार ५११ जना संक्रमित थपिए । ५७८ जनाको मात्र ज्यान गयो । ज्यान गुमाउने संख्या लामो समयपछि भारतमा थोरै आएको हो ।
भारतमा संक्रमितको संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ । आइतबार ६५ हजार ४९६ जना कोरोनामुक्त हुँदा अहिलेसम्म यो संख्या ६६ लाख ५९ हजार ८९५ पुगेको छ ।
मृतकको संख्या १ लाख १४ हजार ६४२ पुगेको छ । सक्रिय संक्रमित पनि निकै घटेका छन् । सक्रिय संक्रमित ७ लाख ७२ हजार ४७५ रहेका छन् ।
शीर्ष स्थानको अमेरिकामा आइतबार ४४ हजार ९४० जना संक्रमित थपिँदा ४४८ जनाको ज्यान गयो ।
जाडो मौसम बढ्दै जाँदा यो संख्यामा अझै बढोत्तरी हुने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । निरन्तर यसरी संक्रमित बढ्दै जाँदा विश्वलाई नै थप चिन्तित बनाएको छ ।
युरोपेली राष्ट्रहरुमा पुनः संक्रमित बढिरहेका छन् । संक्रमणमुक्त भएकाहरुको रोगसमेत बल्झिएको छ ।
त्यस्तै फ्रान्समा २९ हजार ८३७, रुसमा १५ हजार ९९, ब्रजिलमा १० हजार ९८२, बेलायतमा १६ हजार ९८२, अर्जेन्टिनामा १० हजार ५६१ जना संक्रमित थपिए ।
विश्वकै ३५ औं स्थानमा आएको नेपालमा आइतबार २ हजार ९४२ जना संक्रमित थपिए । १२ जनाको मृत्यु हुँदा अहिलेसम्म मृतकको संख्या ७३९ पुगेको छ ।
विश्वभर अहिलेसम्म ४ करोड २ लाख ६८ हजार ४२७ जना संक्रमित भएका छन् । ११ लाख १८ हजार २७५ जनाको ज्यान गइसकेको छ भने ३ करोड १ लाख ११ हजार ४६२ जना कोरोनामुक्त भएका छन् ।