काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारले कांग्रेसका सांसदहरुको नाममा जम्मा गरिदिएको दशैं भत्ता फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दैै गुरुङले तत्काल संसदीय दलको बैठक डाकेर कांग्रेसका सांसदहरुको खातामा सरकारले जम्मा गरिदिएको दशैं भत्ता कांग्रेसका सांसदहरुले नलिने निर्णय गराउन माग समेत गरेका छन् ।
गुरुङले बदनाम सरकारले प्रतिपक्षलाई पनि बदनाम गराउने षडयन्त्र गरेको भन्दै त्यसलाई खारेज गर्न पनि सभापति देउवालाई माग गरेका छन् ।
यसो लेखेका छन् नेता गुरुङले ‘श्रद्धेय पार्टी सभापति @DeubaSherbdr ज्यू ! तत्काल संसदीय दलको बैठक राखेर कांग्रेसका सांसदहरुको खातामा नालायक सरकारले जम्मा गरिदिएको दशैं भत्ता कांग्रेसका माननीयहरुले नलिने संस्थागत निर्णय गराउनुहोस्। बद्नाम सरकारले प्रतिपक्षलाई पनि बद्नाम गराउने षडयन्त्रलाई खारेज गरौं ।’
‘
यसअघि नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महामारीको बेलामा जनतालाई ‘परीक्षण तथा उपचार आफै गर्नु’ भन्ने उर्दी जारी गरेर हदैसम्मको गैरजिम्मेवार बन्नुभयो । तपाईंको अक्षमताको शिकार जनतालाई कहिलेसम्म बनाई राख्ने ?’ भनी प्रश्न गरेका थिए ।