नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या पचहत्तर लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ६१० जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ५५ हजार ७२२ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ५७९ जनाको मृत्यु यहाँको परिवार तथा स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।
अझै पनि भारतभरी ७ लाख ७२ हजार ५५ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६६ लाख ६३ हजार ६०८ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । यसअघि नौ, दश लाख संक्रमितहरु रहने गरेकोमा केही यताबाट घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।
कोरोनाको संक्रमण देखा परेयता भारतमा सोमबारसम्म ९ करोड ५० लाख ८३ हजार ९७६ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा चार करोड भन्दा बढी मानिस संक्रमित भएका छन् ।