काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक मंगलबारसम्म जारी हुने छ । ललितपुरको तुलसीलाल स्मृति भवन भाडामा लिएर जसपाका नेताहरुले बैठक सुरु गरेका छन् । बैठकको पहिलो एजेण्डा बाबुराम भट्टराईलाई राष्ट्रिय परिषद्को अध्यक्ष मनोनयन गर्ने, दोश्रो एजेण्डा केन्द्रीय समिति विस्तार गर्ने र तेश्रो एजेण्डा विधान संशोधन गर्ने रहेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ।
पार्टीको विधान परिमार्जन गरेर केन्द्रीय समितिको आकार बढाउन तयारी भएको पार्टीका नेताहरुले जनाएका छन् । हाल केन्द्रीय समितिको आकार ७ सय ५१ सदस्यीय छ । त्यसमा कम्तीमा १ सय केन्द्रीय समिति सदस्य थप्ने तयारी भएको छ । दोश्रो तहका नेताहलाई भागबण्डा पुर्याउन केन्द्रीय समितिको आकार थप्ने तयारी भएको पार्टीका नेताहले जनाएका छन् । यसैगरी राजनीतिक समितिको पनि आकार थप्ने तयारी भएको छ । हाल राजनीतिक समिति १सय ११ सदस्यीय छ । त्यसमा पनि कम्तीमा १ सय राजनीतकि समिति सदस्य थप्ने तयारी भएको छ ।
भट्टराईलाई राष्ट्रिय परिषद दिएमा उनको मर्यादाक्रम पहिलो स्थानमा हुने छ । पार्टीको विधानमा पहिलो स्थानमा राष्ट्रिय परिषद अध्यक्षको मर्यादा राखिएको छ । विधान अनुसार मर्यादामा राष्ट्रिय परिषद अध्यक्ष पछि केन्द्रिीय समिति अध्यक्षलाई राखिएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष हुन् । तर पार्टीका केही शिर्ष नेताहरु भट्टराईलाई राष्ट्रिय परिषद अध्यक्ष दिएर मर्यादाको सवालमा हालकै अबस्थामा राख्न चाहेका छन् । त्यसकोलागि विधान संशोधन गर्नु पर्ने हुन्छ । हाल भट्टराईको मर्यादा चौथौ स्थानमा छ । कार्यकारिणी समितिका एक सदस्यले भने,‘जुन अनुहार(महन्थ ठाकुर र उपेन्द्र यादव)लाई देखाएर मधेसमा भोट ल्याएका छौ । त्यो अनुहारलाई दोश्रो या तेश्रो मर्यादामा राख्ने हो भने कसरी आउछ मधेसमा भोट ?’
निर्वाचन आयोगमा पार्टीले डकुमेण्ट बुझाउन जाँदा टिपेक्स लगाएर भट्टराइको मर्यादा अशोक राई पछि राखिएको छ । पार्टी गठन हुँदा नै भट्टराइलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिने सहमति भएको पार्टीका नेताहरुले जनाएका छन् । ‘तर मर्यादमा भट्टराईलाई पहिलो स्थानमा राख्ने कि हालकै अवस्थामा राख्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन’ बैठकमा सहभागी एक नेताले भने ।
गत बैशाखमा तत्कालिन जनता समाजवादी पार्टी र समाजवादीवीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन भएको थियो । पार्टी गठन पछि सोमबारदेखि शुरु भएको कार्यकारिणी समितिको बैठक दोश्रो हो । यसअघि साउनमा पहिलो कार्यकारिणी समितिको बैठक बसेको थियो ।