लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका वडा नं २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।
मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलाइ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा बुधबार बिहान ५ः१५ बजे मृत्यु भएको हो । यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि बिहान नै मृत्यु भएको छ ।
लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले मंगलबार नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।