काठमाडौँ । गत चौबीस घन्टामा काठमाडौँ उपत्यकामा एकतीस सय सात नयाँ संक्रमित थपिएका छन् । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा एकतीस सय सात नयाँ संक्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी दिए ।
यसका साथै नयाँ कोरोना संक्रमितको संख्या सन्ताउन्न सय त्रिचालीस देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बुधबार सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।
गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । संक्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।
प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए ।
२४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।