काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कीर्तिमानी जित निकालेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्ने क्रममा बैंगलोरले ८४ रनमै रोकेको छ ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
देवदुत पड्डीकलले २५, गुर्किरात सिंहले २१ तथा कप्तान विराट कोहलीले नटआउट १८ रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेटको नोक्सानीमा मात्र ८४ रन बनाएको थियो । यो स्कोर जारी सिजनकै सबैभन्दा कम योगफल हो ।
आइपीएलको इतिहासमा सबैभन्दा कम स्कोर भने ४९ रन हो । बैंगलोरले सन् २०१७ मा कोलकाता विरुद्ध उक्त योगफल बनाएको हो ।
कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १–१ विकेट लिए ।
अंक तालिका
कोलकातालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा पुगेको छ । बैंगलोरले १० खेलमा १४ अंक जोडेर प्लेअफ नजिक पुगेको छ ।
कोलकाता भने १० खेलमा १० अंकसहित चौंथो स्थानमा छ । १० खेलबाट १४ अंकसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।
९ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ ।
बिहीबारको खेल
बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । खेल बेलुकी ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
१० खेलबाट ८ अंकसहित राजस्थान छैटौं स्थानमा रहेको छ । हैदराबादको ९ खेलबाट ६ अंकमात्रै छ । हारले हैदरावादको प्लेअफ सम्भावना लगभग सकिने छ ।