arrow

तरंगित बनाएर गए गोयल, नेताहरु भने स्पष्टिकरण दिएरै हैरान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
samant-goyal.raw_.jpeg

काठमाडौं। बडा दशैंको मध्यमा नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयलको नेपाल भ्रमणसँगै नेपाली राजनीति एकाएक तरंगित भएको छ । यद्यपी उनी के कारणले आएका थिए उनी फर्किसक्दा समेत प्रष्ट भएको छैन । तर गोयल स्वदेश फर्किसक्दा पनि उनीसँग हामीले भेटेको छैन भन्दै नेपालका नेताहरु स्पष्टीकरण दिएरै हैरान छन् । नेपाल आएदेखि नगएसम्म गोयलको चियोचर्चो खुबै भयो, अनेक अडकल काटिए । उनी नेपाल किन आएका थिए र केके गरेर गए न भारतीय दुतावासले कुनै औपचारीक जानकारी दिएको छ न सरकारका अधिकारीहरुले पत्यारलाग्दो कुरा गरेका छन् ।  

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि यहि कार्तिकमा नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउँदै छन् । तर अचानक झै देखिएको गोयलको यो भ्रमण चाहि के प्रयोजनमा थियो त्यो प्रष्ट छैन । भारतीय हवाई सेनाको विमानमा भारतीय सेनाका अधिकारीहरुसँगै नेपाल आएका गोयलको यो भ्रमण नरवणेको भ्रमणको तयारीको सलसिलामा भएको हुनसक्ने सैन्य स्रोतले जानकारी दिएको छ । नरवणेको भ्रमणको तयारीको सिलसिलामा भारतीय सैन्य अधिकारीहरुले

नेपाली सैन्य अधिकारीहरुसँग छलफल गरेको स्रोतको दावी छ । तर यो पटकको गोयलको भ्रमण कुनै राजनीतिक तथा अन्य प्रसासनीकस्तरको भेटघाट भन्दा पनि नीजिस्तरको पाइएको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले बताए। ति अधिकारीले भने, ' प्रधानमन्त्रीसँग पनि सम्भवत भेट नभएको हुनुपर्ने हो तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकारले भेट भएको भनेपछि त पत्यानै पर्‍यो । '

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक विज्ञप्ती निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गोयलले नेपाल र भारतबीचको सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्धारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तरता अगाडी बढाउने बिषयमा आफ्नो धारणा राखेको बताएका थिए । उनले पनि अन्य भेटघाटहरुमा जस्तो सो भेटको कुरा र तस्विर सार्वजनिक नगरि कुरा मात्र बाहिर ल्याए । 

केहि नीजि प्रयोजनका भेटघाटमा पनि सामान्त व्यस्त रहेको अनुसन्धानका अधिकारीहरुले बताएपनि उनी यहाँ रहेदेखि फर्केपछि पनि नेपाली राजनीति र मिडियामा भने यसले प्राथमिकता पाइरहेको छ । केहि नगरेपनि हल्ला धेरै हुने खालको परिस्थिति बनाउन सामन्त गोयलको भ्रमण सफल भएको अनुसन्धानका अधिकारीहरु बताउँछन् । सम्भवत उनीहरुले पनि यहि चाहेका हुनसक्छन ति अधिकारीले बताए । सीमा विवाद पछि दुई देशबीच चिसिएको सम्बन्ध सुधार्ने स्तरमै भारतीय सरकारको चाहनामै प्रभावशाली व्यक्तिको भ्रमण भएको मान्ने हो भने किन भेटको कुनै पनि तस्विरहरु सार्वजनिक कहि कतै भएन भन्ने प्रश्नहरु पनि उठेका छन् ।

गोयलको भ्रमण दुई देशबीचको चिसिएको सम्बन्ध सुधार्ने प्रयास अन्तर्गत नै हो की थप अन्य एजेण्डाका साथ भएको भन्ने बारेमा झन् अन्यौल र तरंग बढाएको छ । तर पनि एउटा कुरा भने के प्रष्ट भएको छ भने सीमा विवाद पछि भएको गोयलको यो भ्रणण र लगत्तै नरवणेको हुने भ्रमणले दुई देशबीच उच्चस्तरीय भ्रमणको ढोका भने खोलेको कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् । सीमा विवादपछि दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयासमा दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवादपछि कुटनीतिक प्रयासहरु जारी रहेको यसअघी भएका केहि संवाद तथा छलफलहरुबाट देखिएको थियो।

‘रअ’ का प्रमुख सामन्त गोयल बुधबार नेपाल आएर बिहीबार बिहान फर्किसकेका छन्। दुई दिने भएपनि २४ घण्टा पनि काठमाडौंमा नबिताएका ‘रअ’ प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सत्तारुढ दलकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेको भनिएसँगै प्रधानमन्त्रीका सल्लाहकारले वक्तव्य निकाली दुईपक्षिय हितमा कुरा भएको बताए भने प्रचण्डको सचिवालयले सामन्तसँग नभेटेको स्पष्टीकरण दियो । सत्तारुढ दलकै माधवकुमार नेपालसँग समेत भेटेको बताइए पनि माधव नेपालले आफूले सामन्तसँग नभेटेको जानकारी ट्वीटबाट दिएका छन् । कांग्रेसका पनि सभापति शेर बहादुर देउवा सहित केहि नेतासँग भेटेको चर्चा भए उनीहरुले पनि भेट भएको कुरालाई नकारेका छन् । 



लोकप्रिय समाचार
नयाँ