arrow

प्रधानमन्त्री ओलीलाई नविन्द्रराज जोशीको खुलापत्र 

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री एवं गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । 

जोशीले खुलापत्रमा कमजोर सुशासन, शून्य पारदर्शिता, जनताका दुःख–पीडाप्रति उदासीन, लोकतन्त्र र लोकतान्त्रिक संविधानको संरक्षण र सम्वर्धनमा विरक्त सरकारलाई झक्झक्याउन र आमनागरिकको जीवन सुरक्षाका लागि सचेत बनाउने उद्देश्यले पत्र लेखेको उल्लेख गरेका छन् । 

नेता जोशीले सम्पूर्ण नेपालीको लोकतान्त्रिक अधिकार र जीवनको सुरक्षा सुनिश्चित गर्न ओलीलाई मातादुर्गा भवानीले सक्षम हुने आशीर्वाद प्रदान गरुन् भनी कामनासमेत गरेका छन् । 

यस्तो छ नेता जोशीले लेखेको खुलापत्र–

                                  मितिः २०७७ कार्तिक ६ गते
सम्माननीय प्रधानमन्त्रीज्यू ! 
विजयादशमी २०७७ को शुभउपलक्ष्यमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । कमजोर सुशासन, शून्य पारदर्शिता, जनताका दुःख–पीडाप्रति उदासीन, लोकतन्त्र र लोकतान्त्रिक संविधानको संरक्षण र सम्वर्धनमा विरक्त तपाईँको सरकारलाई झक्झक्याउन र आमनागरिकको जीवन सुरक्षाका लागि सचेत बनाउने उद्देश्यले तपाईंलाई यो पत्र लेखेको छु । सम्पूर्ण नेपालीको लोकतान्त्रिक अधिकार र जीवनको सुरक्षा सुनिश्चित गर्न तपाईँलाई मातादुर्गा भवानीले सक्षम हुने आशीर्वाद प्रदान गरुन् भनी कामना गर्दछु । 
लोकतन्त्र प्राप्तिका लागि शहीदहरुले दिएको बलिदानी, जनताले गरेको संघर्ष र भोगेका कष्ट एवं जनसेवामा समर्पित हुनु पर्ने राजनीतिको मूलभूत चरित्रलाई बिर्सिने हो भने इतिहासले कहिल्यै क्षमा गर्ने छैन । वर्तमान सरकार र सत्तारुढ दलका नेताहरुको स्वार्थपरायणताले सीमा नाघेको यथार्थ हामी सामु छ । भ्रष्टाचारले उग्ररुप लिँदैछ र यसले संस्थागतरुप लिएको परिणाम नेपाली जनताले भोगी रहेका छन् । भ्रष्टाचारका कारण राजनीतिक क्षेत्र नै बदनाम हुँदै गएको छ । औषधि खरिद प्रकरणदेखि कोरोना महामारी नियन्त्रण र सरकारका अन्य खरिद एवं ठेक्का प्रक्रियाहरुमा सुशासन र पारदर्शिताको उपहास भएको छ । जसले गर्दा लोकतन्त्र नै कमजोर बन्दै गएको आभास भएको छ । जनताप्रति उपेक्षा र कमजोर सुशासनले (ब्याड गभर्नेन्सले) लोकतन्त्र नै कमजोर बन्दै गएको छ । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै जानु सम्पूर्ण लोकतन्त्रवादीहरुको लागि पीडाको विषय बनेको कुरा प्रधानमन्त्रीज्यूलाई अवगत नै हुनु पर्दछ । 
आमनागरिकको जीवन दिन प्रतिदिन कष्टकर हुँदै गइरहेको छ, यो ज्यादै चिन्ताजनक विषय हो तर मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार पूर्णतः उदासीन देखिएको छ । जनताले भोग्नु परेका पीडा प्रति सरकार पूर्णतः उदासिन देखिनु विडम्वनापूर्ण अवस्था हो । देश अहिले कोरोना महामारीका कारण अस्तव्यस्त छ । विगत ७ महिनादेखिको लकडाउनले आर्थिक शिथिलता आई जनताको रोजगारी गुमेको छ, व्यवसाय बन्द भएको छ, महङ्गीले आकास छोएको छ र दैनिक ज्यालादारीका सबै काम ठप्प भई रोग र भोकबाट जनता छट्पटिएका छन् । यस्तो अवस्थामा पनि सरकारका निर्णयहरुले गैह्र जिम्मेवारीको पराकाष्ठा नाघेका छन् । यही बेला कोरोनाका रोगीको उपचार गर्ने जिम्मेवारीबाट सरकारले पूर्णरुपमा हात झिकेको छ । क्वारेन्टाइनको अवस्था दयनीय छ, अस्पतालमा भेन्टिलेटरको अभावमा मानिसले जीवन गुमाउनु परिरहेको छ । आमनागिरिकले चिकित्सकको निगरानीमा उपचार पाउने सम्भावना क्षीण बन्दै गएको छ । यो जनताप्रति गरिएको उपेक्षा मानवता विरुद्धको अपराधको श्रेणीकै हो भन्दा अत्युक्ति नहोला । अतः आमनागरिकको जीवन सुरक्षाका निमित्त सरकारले संवेदनशील भई जिम्मेवारी बोक्न म आग्रह गर्दछु ।
आमनागरिकको रगत र पसिनाबाट आर्जित संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गत तपाईँ प्रधानमन्त्री हुनुहुन्छ र यही संविधान अन्तर्गत तपाईँको सरकार छ । शहीदहरुको सपनालाई मूर्तरुप दिन र संविधानले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुकको लक्ष्य हासिल गर्न सरकारका कामकारवाही उद्यत हुनै पर्दछ । तसर्थ संविधान विपरीतका सरकारका क्रियाकलापहरुलाई सच्याउँदै देश र जनताप्रति सम्वेदन शीलहुँदै लोकतन्त्र, संविधान र संघीय व्यवस्थालाई संस्थागत गराउँदै आमनागरिकको लोकतन्त्रप्रति विश्वास बढ्ने काममा तदारुकता देखाउन प्रधानमन्त्रीज्यूलाई खुलारुपमा आह्वान गर्दछु ।
अन्त्यमा, विजयादशमीको सुखद् अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
जय नेपाल !
नविन्द्रराज जोशी
पूर्व उद्योग मन्त्री
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठान



लोकप्रिय समाचार
नयाँ