arrow

नेपाली जनता टुहुरा भए –पूर्वराजा ज्ञानेन्द्र शाह 

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आजको बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेको बताएका छन् । बडादशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान परिस्थितिप्रति आक्रोश पोख्दै सरकारलाई सचेत गराएका हुन् । 

वर्तमान परिस्थितिप्रति कटाक्ष गर्दै शाहले लेखेका छन्, ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् ।’

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्दै कोरोना भाइरस संक्रमण रोकथाममा समेत सरकार असफल भएको टिप्पणी गरेका छन् । 

उनले विपदका बेलामा समेत जनताले अभिभावक नपाएको भन्दै वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको टिप्पणी गरेका छन् । 

सन्देशमा शाहले लेखेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको उल्लेख गर्दै सरकारको आलोचना गरे । 

उनले जनता बचाउन सकेमात्र राजनीति र राज्य बच्ने भन्दै सन्देशमा लेखेका छन् ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’ 

विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको आरोप पनि पूर्वराजाले लगाएका छन् । 

सन्देशमा पूर्वराजाले भनेका छन्, ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ ।’ 

राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिएका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएकामा चिन्तित पूर्वराजा शाहले दैनिक जिविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको पनि बताएका छन् । 

पूर्वराजा शाहले यसपटकको दशैंमा जनताको दुःखसँग सँगै रहेको भन्दै शक्तिपीठहरुको दर्शन नगर्ने र बडादशैंका दिन टीका पनि नलगाइदिने बताइसकेका छन् । 

यसअघि असारमा परेको आफ्नो जन्मदिन पनि उनले भव्यपूर्वक मनाएका थिएनन् । 



लोकप्रिय समाचार
नयाँ