काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको दशैं शुभकामनामा लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नयाँ नक्साको प्रयोग नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि कांग्रेसले गम्भीर प्रश्न उठाएको हो ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै कांग्रेस प्रवक्ता एवं कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण के हो भनी सोधेका छन् ।
उनले देशको कार्यकारीले यस्तो गल्ती गर्दा यसलाई सामान्य त्रुटी भनी कसरी मान्ने भनी प्रश्नसमेत गरेका छन् ।
देशको संसदले पूर्ण रुपले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा कसरी फिर्ता होला भन्दै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको तस्वीरमा नेपालको निशान छाप अंकित गरिएको छ ।
तर उक्त छापमा रहेको नेपालको नक्सामा भने हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग नसमेटी पुरानै नक्सा राखिएको छ ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।
त्यतिमात्र हैन उनको चर्को आलोचना पनि भइरहेको छ । आफूलाई राष्ट्रवादी बताउने र आफू बाहेक कसैले पनि नयाँ नक्सा सार्वजनिक गर्न नसक्ने बताउने प्रधानमन्त्री ओलीको यो चालादेखेर धेरैले चर्को आलोचना गरेका छन् ।
यसो लेखेका छन् विश्वप्रकाश शर्माले–
लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस् !
देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?