काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंगस खेल्दैछन् ।
बैंगलोर शीर्ष स्थानमा पुग्ने होडमा छ । यो खेल जित्दा बैंगलोर ३ खेलअघि नै प्लेअफमा पुग्नेछ ।
तर पुछारको चेन्नई पहिलो चरणबाट बाहिरिने पहिलो टिम बनेको छ । चेन्नईले इतिहासमै खराव खेलेको हो । उसलाई शाख जोगाउन भए पनि जित्नुपर्ने दवाव छ ।
अर्को खेलमा शनिबार राति मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अबुधाबीको शेख जायेद स्टेडियममा हुनेछ ।
शीर्ष स्थानको मुम्बई तीन खेलअघि नै प्लेअफमा पुग्ने चरणमा छ । त्यस्तै पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानले प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै राख्न पनि यो खेल जित्नैपर्नेछ । यो खेल हार्दा राजस्थान प्लेअफबाट बाहिरिने दोस्रो टिम बन्नेछ ।
अंक तालिका
१० खेलबाट मुम्बई इन्डियन्स १४ अंकसहित शीर्ष स्थानमा छ । ११ खेलबाट १४ अंकको दिल्लीले पहिलो पटक शीर्ष स्थान ओगट्ने अवसर चुकाएको छ । रोयल च्यालेन्जर्स बैंगलोर १० खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।
कोलकाता ११ खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंकसहित पाँचौं स्थानमा छ । ८ अंकबाट हैदराबाद र राजस्थान छैटौं र सातौं स्थानमा रहेका छन् ।
११ खेलबाट ६ अंकको चेन्नई सुपर किंगस पहिलो पटक प्लेअफबाटै बाहिरिएको छ ।