बडादशैंः आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले शुभ साइतमै टीका लगाउनु पर्ने
बिहान १०ः१९ बजे उत्तम साइत, १०ः११ बजे देवी विसर्जन
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ कार्तिक १० सोमबार
95
Shares
दशैंको मुख्य दिन कात्तिक १० गते अर्थात सोमवार विजयादशमी पर्व परेको छ । ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।
आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ ।
आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भूटान, बर्मालगायत देश पर्छन् ।
यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ ।
विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ ।
सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा छैन ।
देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।
टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ ।
तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।