काठमाडौं । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पराजित भएका छन् ।
अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थान रोयल्सले मुम्बईमाथि ८ विकेटको शानदार जित निकालेको हो । शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा बेन स्टोक्सले नटआउट रहँदै १ सय ७ रन बनाए । स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गरे । यस्तै सन्जु सामसनले नटआउट रहँदै ५४ रन बनाए । मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । हार्दिक पाण्डयले नटआउट रहँदै ६० रन बनाए । उनले २१ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।
यस्तै सूर्यकुमार यादबले ४० रन जोडे । इशान किशनले ३७ रन जोड्दा सौरभ तिवारीले ३४ रन बनाए । राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २–२ विकेट लिए ।
जितसँगै राजस्थानले मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।
आइतबारको पहिलो खेल
चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा रुतुराज गायकवाडले नटआउट ६५ रन बनाए । अम्बाती रायडुले ३९ रन जोडे । बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० तथा एबी डी भिलियर्सले ३९ रन जोडे ।
चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।
जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यसअघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।
अंक तालिका
यी खेलसँगै ११ खेलबाट मुम्बई, दिल्ली क्यापिटल्स र बैंगलोरको समान १४ अंक छ ।
कोलकाता नाइट राइडर्सको १२, किंगस इलाभेन पन्जाब र राजस्थान रोयल्सको १०–१० अंक छ ।
सनराइजर्स हैदराबाद र चेन्नईको ८–८ अंक छ ।
सोमबारको खेल
सोमबार कोलकाता र पन्जाब खेल्दैछन् । शारजहाँ क्रिकेट स्टेडियममा खेल ७ः४५ बजे हुँदैछ ।