काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा शीर्ष स्थानका तीन टिम नै पराजित भएपछि प्लेअफ समीकरण रोमाञ्चक बन्दै गएको छ ।
शनिबार दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित भयो भने आइतबार मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग र रोयल च्यालेन्जर्स बैंगलोर चेन्नई सुपर किंगससँग पराजित भएको छ ।
११ खेलबाट १४ अंकमा रहेका तीन वटै टिम ११ औं खेलमा पराजित भएसँगै प्लेअफ समीकरण रोमाञ्चक बनेको हो ।
कोलकाता १२ अंकबाट चौथो, किंगस इलाभेन पन्जाब १० अंकबाट पाँचौं र राजस्थान रोयल्स १२ खेलबाट १० अंकसहित छैटौं स्थानमा रहेको छ ।
सनराइजर्स हैदराबादको ११ खेलबाट ८ तथा चेन्नई सुपर किंगसको १२ खेलबाट ८ अंक छ ।
प्लेअफको खेल तालिका सार्वजनिक
प्लेअफको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक भएको तालिका अनुसार पहिलो क्वालिफायर नोभेम्बर ५ तारिखमा दुबईमा हुनेछ । पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो र दोस्रो हुने टिम भिड्ने छन् ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।
दोस्रो क्वालिफायर नोभेम्बर ८ तारिखमा अबुधाबीमा हुनेछ । दोस्रो क्वालिफायरमा खेल्ने अर्को टिम इलिमिनेटरको विजेता हुनेछ ।
लिगको तेस्रो र चौंथो हुने टिमबीचको इलिमिनेटर नोभेम्बर ६ तारिखमा अबुधाबीमा हुनेछ । दोस्रो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउने छन् ।
१३ औं संस्करणको आईपीएलको फाइनल खेल दुबईमा नोभेम्बर १० तारिखमा हुनेछ ।