arrow

प्रीति जिन्टाको पन्जाबको सनसनीपूर्ण प्रदर्शन, प्लेअफ सम्भावना बलियो 

logo
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
ipl-punjab-preeti.jpg

काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टाको लगानी रहेको किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेको छ । 

सुरुआती खेलहरुमा त्यति सशक्त प्रदर्शन गर्न नसकेको पन्जाबले पछिल्लो समय निरन्तर जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ । 

पञ्जाबले लगातार पाँच खेल जितेको छ । 

क्रिस गेल टिममा आएपछि पन्जाबको कायापलट भएको छ । पन्जाबले कोलकाता नाइट राइडर्समाथि शानदार जित निकालेको छ ।

शारजहाँमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १ सय ५० रनको विजयी लक्ष्य पन्जाबले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

पन्जाबको जितमा क्रिस गेलले विष्फोटक ब्याटिङ गरे । उनले २९ बलमा ५१ रन बनाए । मन्दिप सिंहले ५६ बलमा नटआउट ६६ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ९ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ तथा कप्तान इयान मोर्गनले ४० रन बनाए । 

कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले ३ विकेट लिए । यस्तै रवि बिश्नोई र क्रिस जोर्डनले २–२ विकेट लिए । 

यस जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।

अंक तालिका
पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा उक्लिएको छ । पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ । 

कोलकाता भने पाँचौं स्थानमा झरेको छ । कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।

११ खेलबाट मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १४–१४ अंक छ । राजस्थान रोयल्सको १२ खेलबाट १०, सनराइजर्स हैदराबादको ११ खेलबाट ८ तथा चेन्नई सुपर किंगसको १२ खेलबाट ८ अंक छ । 



लोकप्रिय समाचार
नयाँ