काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेहरु बढेसँगै बेल्जियममा चिकित्सकहरुलाई आफू संक्रमित भए पनि उपचार गर्न निर्देशन दिइएको छ । संक्रमित बढिरहँदा र अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरुलाई उनीहरु आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ ।
उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएको बीबीसीले लेखेको छ । अहिले १० वटा अस्पतालहरुले कोरोना भाइरसबाट संक्रमित तर लक्षण नभएका चिकित्सकहरुलाई काम गर्न अनुरोध गरेका छन् ।
बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न संक्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताए । तर डा। फिलिप डेभोसले चिकित्सकबाटै बिरामीमा भाइरस सर्ने अकाट्य खतरा रहेको स्वीकार गरे ।
बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालहरुले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अत्यावश्यकीय बाहेकका शल्यक्रियाहरु रोकेका छन् ।