काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरानखानले फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गलाई एउटा पत्र लेखेका छन् । उनले पत्रमा फेसबुकलाई इस्लामप्रति पूर्वाग्रह राख्ने वा घृणा फैलाउने खालका सामग्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।
खानले सामाजिक संजाल ट्वीटरमा सार्वजनिक गरेको सो पत्रमा इस्लामोफोबिया भनिने त्यस्ता सामग्रीले सामाजिक सञ्जालमार्फत् विश्वभरि अतिवाद र हिंसा फैलाउन बढावा दिने भनिएको छ ।
गत महिना फेसबुकले होलोकस्ट भनिने लाखौँ यहुदीहरुको नरसंहार गरिएको घटनालाई अस्वीकार गर्ने वा त्यस इतिहासलाई बङ्ग्याउने सामाग्री हटाउने नीति ल्याएको थियो । खानले फेसबुकलाई इस्लामविरुद्ध घृणा निम्त्याउने अभिव्यक्तिप्रति पनि त्यस्तै नीति ल्याउनुपर्ने बताएका छन् ।
यसअघि गत आइतबार खानले फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँलाई ‘इस्लाममाथि हमला गरेको’ आरोप लगाएका थिए ।
इमरान खानको आग्रहबारे फेसबुकले त्यस्ता सामग्रीहरु आफूले थाहा पाउने बित्तिकै हटाउने गरेको जनाएको छ । तैपनि पनि त्यो पर्याप्त नभएको उसले स्वीकारेको छ।